नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले कार्यस्थलमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूमाथि कुटपिट गर्ने स्थानीय सरकारका जनप्रतिनिधिलाई कारबाहीको माग गरेको छ ।
संगठनका अध्यक्ष अम्बादत्त भट्टको नेतृत्त्वमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको टोलीले नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रसेवक कर्मचारीको सुरक्षाको माग गरेको हो ।
संगठनले तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बलबहादुर गुरुङले सोही वडामा कार्यरत वडासचिव नवीन भुसाललाई कार्यस्थलमै घाँटी अठ्याउँदै कुटपिट गरेको, रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडा नम्बर २ का वडाध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि हातपात गरेको घटना उल्लेख गर्दै भनेको छ, 'स्थानीय सरकारका जनप्रतिनिधिबाटै कार्यस्थलमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूमाथि गम्भीर अवस्थामा पुग्ने गरी गुन्डागर्दी शैलीमा कुटपिट गर्नु कानुनी राज्यको ठाडो उपहास हो ।'
संगठनका महासचिव डिलाराम खनालद्वारा जारी विज्ञप्तिमा 'सार्वजनिक सेवा प्रवाहलाई ऐन-नियमअनुसार सञ्चालन गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि कार्यस्थलमै भएका यस्ता अमानवीय व्यवहारले कर्मचारी सुरक्षामा गम्भीर प्रश्न त उठाएकै छ, र साथै यसप्रकारका घटनाले कर्मचारीको मनोबल घट्न गई सेवाप्रवाहसमेत प्रभावित भएको,' भनिएको छ ।
कर्मचारीहरूलाई कार्यालयमा अनुकूल कार्य वातावरण उपलब्ध गराउन सके मात्र कर्मचारीहरूले तोकिएको जिम्मेवारी सफलतापूर्वक बहन गर्न सक्ने र सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सक्ने संगठनको ठहर छ । 'यस्ता आपराधिक घटनाले हामी सम्पूर्ण कर्मचारीलाई कति सुरक्षित वातावरणमा काम गरिरहेका छौँ भन्ने गम्भीर सवाल उत्पन्न भएको छ । यस्ता आपराधिक घटना दोहोरिन नदिन र राष्ट्रसेवक कर्मचारीहरूको कार्यथलो र जिउ ज्यानको सुरक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा संगठनले विगत ८ वर्षदेखि संघीयताको प्रशासनिक कार्यान्वयनको चरणमा कर्मचारी समायोजनबाट उत्पन्न समस्याको पहिचान गरी समाधान गर्न तीन तहको सरकारी सेवालाई निजामती सेवाको परिभाषाभित्र समेटिनुपर्ने, तहगत प्रणालीको अवलम्बन गर्नुपर्ने, अन्तरप्रदेश/अन्तरनिकाय सरुवा चक्रीय तथा पूर्वानुमान योग्य हुनुपर्ने, एकीकृत ट्रेड युनियन अधिकारको व्यवस्था गर्नुपर्नेजस्ता विषय जोडदार रूपमा उठाउँदै आएको स्मरण गराउँदै पछिल्ला घटनाहरूपश्चात् झनै अनिवार्य भएको प्रमाणित गरेको पनि उल्लेख छ ।