महोत्तरीको सदरमुकाम जलेश्वरस्थित विश्वप्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरमा शिवरात्रिका लागि रङरोगन र सजावटको कार्य तीव्र पारिएको छ । स्वयं रुद्रले स्थापित गरेको भनी व्याख्या गरिएको जलेश्वरनाथ महादेव मन्दिरमा हरेक शिवरात्रिमा हजारौँको संख्यामा श्रद्धालुहरूले शिवलिंगको प्रत्यक्ष दर्शन गर्ने भएकाले मन्दिरमा पूर्वतयारी कार्य तीव्र पारिएको हो ।
जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले मन्दिर रंग्याउनेदेखि अन्य विभिन्न कार्यहरू भएको बताए । जनआस्थाको पवित्र स्थल जलेश्वरनाथ महादेव मन्दिरमा नेपालमात्र नभई भारत तथा अन्य मुलुकबाटसमेत श्रद्धालुहरू आउने गरेकोमा यसपटक शिवरात्रिमा विशेष तयारीहरू थालेको बताए। उनले पूजा व्यवस्थापनका लागि समितिसमेत चयन भइसकेको र समितिले आवश्यकताअनुसारका कार्यहरू अघि बढाएको बताए । जलेश्वरनाथ महादेव मन्दिरमा शिवरात्रिको समय दर्शन गर्न आउने श्रद्धालुहरूलाई थोरै समय लाइनमा बस्ने गरी व्यवस्थापनको प्रयास भइरहेको नगरप्रमुख सोनारले थपे ।
यता पूजाको तयारीमा सुरक्षा संयन्त्र, नागरिक समाज, स्वयंसेवकलगायत सम्बन्धित निकाय तथा व्यक्तिहरूसँग समन्वय भइरहेको पूजा व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र साहले बताए । उनले फागुन १२ गते सरसफाइ, फागुन १३ गते शोभा कलशयात्रा र फागुन १४ गते महाशिवरात्रि रहेको बताए । जलभित्र विराजमान जलेश्वरनाथ महादेव सम्भवत जलभित्र बस्ने एक मात्र महादेव छन् जसको लिंग दर्शन गर्न बाल्टीले जल निकाल्ने परम्परा छ ।
महोत्तरीकै सोनमा गाउँपालिकास्थित मगरथानामै रहेको मंगलनाथ महादेवसमेत जलभित्र विराजमान रहेकोमा मंगलनाथमा मोटरले जल निकाल्ने गरिएको छ । जलेश्वरनाथ महादेव मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरीलगायतले वर्षौँदेखि बाल्टीले जल निकाल्दै आएका छन् । यसपालिको शिवरात्रिमा जलेश्वरनाथ महादेव, टुटेश्वरनाथ महादेव, मंगलनाथ महादेवलगायतका शिव मन्दिरहरूमा शिवरात्रिको तयारी तीव्र छ ।