बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिँदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको छ ।
नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियानसँगै सुक्खा फलफूलखेती गर्न स्थानीयलाई प्रेरित गर्न थालेको हो । बागलुङ नगरपालिका– ९ तित्याङको डोय क्षेत्रमा गत वर्ष र यस वर्ष गरी २८० रोपनी जग्गामा ओखरखेती विस्तार गरिएको वडाध्यक्ष राजु थापाले जानकारी दिए ।
तित्याङमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रु. १० लाख र स्थानीयको रु. आठ लाख लगानीमा १४० रोपनी जग्गामा दुई हजार २५० ओखरका बिरुवा लगाइएकामा यस वर्ष नगरपालिकाको रु. १२ लाख र स्थानीयको रु. आठ लाख गरी रु. २० लाखमा जुरेढुंगा क्षेत्रको १४० रोपनी जग्गामा एक हजार पाँच सय ओखरका बिरुवा लगाउन थालिएको वडध्यक्ष थापाले बताए ।
उनका अनुसार यस वर्ष रु. २० लाखबाट बिरुवा खरिद, रोपण, सिँचाइ पोखरी निर्माण र मलखादको व्यवस्थापन गर्नेलगायत काम भइरहेका छन् । जुरेढुंगाका कृष्णबहादुर खड्का, रविन थापा र यामबहादुर थापालगायतको बाँझो जग्गामा व्यावसायिक ओखरखेती थालिएको छ । सिँचाइको अभाव रहेको र बाँझो जग्गामा सुक्खा फलफूलखेती राम्रो हुने भएकाले कुकाठ हटाएर बाँझो जग्गा सदुपयोग गर्न थालिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।
पछिल्लो समय बसाइँसराइले गाउँबस्ती रित्तिँदै गएपछि उजाडिएको बारी र जंगल फाँडेर ओखरखेती विस्तार भइरहेको जुरेढुंगा कृषक समूहका अध्यक्ष लीलाबहादुर खड्काले बताए । एक हजार ६०० मिटरदेखि तीन हजार मिटरसम्म लगाउन सकिने दाँतेओखरको ‘थिनसेल’ जातको बिरुवा बागलुङको हावापानीमा लगाउन सकिने भएकाले जुम्लाबाट बिरुवा ल्याएर रोपिएको नगरपालिकाकी कृषि प्राविधिक लछुता बरुवालले जानकारी दिए ।
प्रतिबिरुवा रु. तीन सय २० मा ल्याइएको थियो । जुरेढुंगाका किसानले परम्परागत खेती गर्दै आएकामा नगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्न थालेपछि सामूहिक रूपमा ओखरखेती गर्न थालेका हुन् । यस वर्ष जुरेढुंगा कृषक समूहलाई एक हजार पाँच सय बिरुवा हस्तान्तरण गरेर ओखरखेती विस्तार सुरु गरिएको कृषि प्राविधिक बरुवालले बताए । उपप्रमुख खड्काले वडा नं. ९ का किसानले सुन्तला र तरकारीसँगै ओखरखेतीलाई उच्च प्राथमिकता दिएकाले आगामी वर्ष पनि ओखरका थप बिरुवा वितरण गरिने बताए ।