- आफूले सञ्चालन गरेको रोजमेरी आइडल बोर्डिङ स्कुलमा विद्यार्थी घट्ने डरले मेयर कृष्णहरि महर्जनले अनुमति नदिएको अभिभावकको आरोप
तारकेश्वर नगरपालिकाले कक्षा ९ का लागि पठनपाठन अनुमति नदिँदा मनमैजुस्थित नेपाल रत्न विद्यालयका विद्यार्थी प्रभावित बनेका छन् । स्कुलमा आर्थिक रूपमा विपन्न परिवारका बालबालिका नि:शुल्क अध्ययन गर्दै आएका छन् । विद्यालय व्यवस्थापन समिति र नगरपालिकाका प्रतिनिधिबिच १ पुस ०७९ मा बसेको संयुक्त बैठकले नयाँ शैक्षिक सत्रदेखि विद्यालयमा कक्षा ९ को पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार ०८० को शैक्षिक सत्रदेखि विद्यालयले कक्षा ९ मा विद्यार्थी भर्ना गरेको थियो । तर, नगरपालिकाले हालसम्म पनि अनुमति नदिएपछि कक्षा ९ मा अध्ययनरत विद्यार्थी अलपत्र परेका हुन् ।
विद्यालयकी प्रधानाध्यापक मीरा घर्तीमगरले नगरपालिकाले अनुमति नदिँदा कक्षा ९ मा अध्ययनरत दुई शैक्षिक सत्रका विद्यार्थीको भविष्य अन्योल बनेको बताइन् । ‘कक्षा ९ मा पठनपाठन गर्न दुई वर्षअघि नै निर्णय भएको रहेछ । त्यहीअनुसार गत वर्ष विद्यार्थी भर्ना गरिए, तर पठनपाठनको अनुमति मिलेन । विद्यार्थीलाई अरू नै स्कुलबाट कक्षा ९ को परीक्षा दिन लगाइयो । सर्वोच्च अदालत र मानव अधिकार आयोगले पठनपाठन सञ्चालन गर्न भनेपछि यस शैक्षिक सत्रमा पनि विद्यार्थी भर्ना गरियो । तर, यसपटक पनि अनुमित प्राप्त भएन । त्यसैले यसपटक पनि विद्यार्थीको भविष्य अन्योलग्रस्त हुने भएको छ,’ उनले भनिन् ।
चालू शैक्षिक सत्रको सुरुमा विद्यालयमा २२ विद्यार्थी भर्ना भएका थिए । तर, अनुमतिको विषय नै अन्योल भएपछि १० जना विद्यार्थीलाई अभिभावकले अन्यत्र लगेका थिए । बाँकी १२ विद्यार्थी भने अझै पनि सोही विद्यालयमा अध्ययनरत छन् । विद्यालयको पठनपाठन नै प्रभावित बनेपछि विद्यालय व्यवस्थापन समिति पटक–पटक नगरपालिका पुगेको थियो । तर, नगरपालिकाले अनुमति दिनुको सट्टा २५ चैत ०८० मा पठनपाठन रोक्न विद्यालयलाई पत्र काटेको थियो ।
रन्थनिएको व्यवस्थापन समिति रिट निवेदन लिएर सर्वोच्च र मानव अधिकार आयोग पुगेका थिए । सर्वोच्चले ३० वैशाख ०८१ मै मुद्दाको अन्तिम किनारा नलागेसम्म विद्यालयको पठनपाठन नरोक्न आदेश दिएको थियो । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले गरेको आदेशमा भनिएको थियो, ‘विद्यालयमा अध्ययनरत विद्यार्थीको शिक्षाको पहुँचको सुनिश्चितता र बालबालिकाको शिक्षा भविष्यसँग जोडिएको विषय समाहित हुँदा निवेदनको निर्णय हुँदा ठहरेबमोजिम हुने नै हुँदा सुविधा सन्तुलनको दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म तारकेश्वर नपाको कार्यालयबाट २५ चैत ०८० च.नंं. १९७ को पत्र कार्यान्वयन नगर्नू–नगराउनू ।’
मानव अधिकार आयोगले पनि विद्यार्थीको समग्र शैक्षिक विषयमै अन्योल उत्पन्न भएको भन्दै अनुगमन गरी थप कक्षा सञ्चालनको अनुमति दिनु भनेको थियो । आयोगले गत १८ पुसमा नगरपालिकालाई काटेको पत्रमा भनिएको छ, ‘शैक्षिक विषयमा नै अन्योलको स्थिति उत्पन्न भएकाले विद्यार्थीको हित र शिक्षाको अधिकारसमेतलाई विचार गरी उनीहरूको भविष्यमा कुनै नकारात्मक असर नपर्ने गरी पारस्परिक समन्वयका आधारमा आवश्यक कार्य गर्न नेपाल रत्न स्कुल र तारकेश्वर नपा प्रमुखलाई लेखी पठाउने र थप कक्षा सञ्चालनार्थ आवश्यक सर्त र योग्यता पूरा गरेको अवस्थामा थप कक्षा सञ्चालनको अनुमति प्रदान गर्ने ।’ तर, नगरपालिकाले आयोग मात्र नभई सर्वोच्चको आदेशसमेत पालना नगरेको विद्यालयकी प्रधानाध्यापक मीरा घर्तीमगरले बताइन् । ‘कक्षा ९ को पठनपाठन सञ्चालन गर्न नगरपालिकाकै प्रतिनिधिले निर्णय गरे । हामीले विद्यार्थी भर्ना लियौँ । पठनपाठन सुरु भयो, तर पछि पठनपाठन रोक्न भनियो । नगरपालिकाको कदमविरुद्ध हामी सर्वोच्च र मानव अधिकार आयोग पुग्यौँ । दुवै निकायले पठनपाठन सञ्चालन गर्न भने । तर, नगरपालिकाले हालसम्म पनि अनुमति दिएन । त्यसैले विद्यार्थीको भविष्य अन्योल हुने अवस्था आयो,’ उनले भनिन् ।
विद्यालयमा हाल कक्षा १ देखि ९ सम्म पठनपाठन हुँदै आएको छ । सबै गरी विद्यालयमा अहिले ४०२ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले आर्थिक रूपमा विपन्न बालबालिकालाई नि:शुल्क पढाउँदै आएको छ । दालेकी शैक्षिक सार्वजनिक गुठीअन्तर्गत सञ्चालिन रत्न स्कुलको आफ्नै भवन छ । विद्यालयमा हाल विभिन्न विषयका १४ जना शिक्षक कार्यरत छन् । तर, नगरपालिकाले भने मापदण्ड पूरा नगरेकाले कक्षा ९ को अनुमति नदिएको दाबी गर्दै आएको छ ।
तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले कक्षा ९ अध्ययनका लागि तोकिएको मापदण्ड नपुगेकाले अनुमति नदिएको बताए । ‘कक्षा ९ को पठनपाठन गर्न निश्चित मापदण्ड तोकिएको छ । तर, विद्यालयले मापदण्ड पूरा गरेको छैन । त्यसैले अनुमति नदिइएको हो । पठनपाठन गर्ने निर्णयको सन्दर्भमा भने हाम्रा प्रतिनिधि नै उनीहरूसँग मिलेछन् । सँगै घुम्न गएछन् । त्यही मौकामा पठनपाठन गर्ने निर्णय गरेछन्,’ उनले भने ।
मेयर कृष्णहरि महर्जनको विद्यालयभन्दा करिब एक किमि दूरीमा रोजमेरी आइडल बोर्डिङ स्कुल छ । नेपाल रत्न स्कुल व्यवस्थापन समितिका सल्लाहकार दीपक पुनले मेयरको बोर्डिङ स्कुलमा विद्यार्थी घट्ने भएपछि नि:शुल्क पठनपाठन हुने विद्यालयलाई कक्षा ९ को अनुमति नदिएको दाबी गरे । ‘रत्न स्कुलनजिकै मेयरको निजी विद्यालय छ । हामी नि:शुल्क पठाउँछौँ । उहाँहरू शुल्क लिनुहुन्छ । उहाँहरूको विद्यालयमा विद्यार्थी घट्ने डरले हामीलाई कक्षा ९ को पठनपाठन अनुमति नदिएको हो,’ उनले भने । नगरपालिकाले अन्याय गरेको भन्दै विद्यार्थीले गत २३ माघमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा समेत निवेदन दिएका छन् ।