गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछुतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गर्ने बताएका छन्।
संयुक्त राजनीतिक दलित संघर्ष समितिको जातीय विभेदलगायत विषय सम्बोधन गर्न समितिका संयोजक लोकबहादुर विश्वकर्मा नेतृत्वको प्रतिनिधिमण्डलबाट ज्ञापनपत्र बुझेपछि उनले यस्तो बताएका हुन्। ‘प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क गठन गर्छुु। त्यसलाई ७७ जिल्लामै डेस्क बनाउन निर्देश गर्छु,’ गृहमन्त्रीले भने।
जातीय विभेद निर्मूल गर्न सरकार लागिपरेको उनले बताए। ‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चिता हुने गरी राख्नुपर्छ भन्ने मान्छे म हुँ। त्यहीअनुसार सबै राजनीतिक दलबिच सहमति भएको हो। जातीय विभेद निर्मूल हुनुपर्छ भनेर म सधैँ लागिपरेको छु,’ गृहमन्त्रीले भने।