बृहत् सल्यान महोत्सव श्रीनगरमा झापाका दीपक कार्कीले भाँडावर्तन र कपडाको गोदाम सञ्चालन गरेका थिए । महोत्सव सञ्चालन भएको सात दिन बिते पनि कारोबार शून्यप्राय नै थियो । शनिबार भने महोत्सवमा भिडभाड बढेसँगै कारोबार पनि सन्तोषजनक भएपछि अब व्यापारले गति लिन्छ भन्ने लागेको थियो कार्कीलाई । तर, शनिबार राति नै महोत्सव स्टलमा आगलागी हुँदा सबै खरानी भए ।
आगलागीका कारण उनले सञ्चालन गरेको पाँचवटा स्टलको करिब ४० लाख रुपैयाँको सामान नष्ट भयो । आगलागी भएको हप्ता दिन बित्दा पनि कुनै निकायले वास्ता नगरेको भन्दै उनले आक्रोश पोखे। ‘हामीले नारा लगाएनौँ, जुलुस निकालेनौँ, प्रतिष्ठान छ, ठेकेदार छ, नगरपालिका छ, केही राहत मिल्ला भन्ने आसले बसेका थियौँ, तर कसैले राहत दिएनन् । लाखौँको सामान जलेर सकियो, हामीलाई सम्हालिन गाह्रो भइसकेको छ,’ उनले भने ।
यस्तै, भारतका मातेश्वरीप्रसाद अग्रहरि कपडाको व्यापार गर्न आएका थिए। आगलागीले उनको ११ लाख रुपैयाँको सामान जलेर नष्ट भयो । यता सामान जलेर खरानी हुँदा घरमा गर्भवती श्रीमती सम्झँदै भक्कानिए।
‘एकैछिनमा सामान जलेर खरानी भयो, त्यो वेला ठेकेदारले बिमा गरेको छ, नआत्तिनु भन्यो, तर पछि बिमा गरेको छैन भन्यो, आगलागीले मेरो सबै सकियो,’ भक्कानिँदै उनले भने, ‘सबै सामान ऋण खोजेर ल्याएको हुँ, घरमा श्रीमती सुत्केरी हुन दुई महिना बाँकी छ, यस्तो अवस्थामा म कसरी घर जाऊँ ?’ उनले दुःखेसो पोखे । महोत्सवस्थलका आगलागीपीडितहरूले आफूहरूले सम्बन्धित निकायबाट उधारो आश्वासनबाहेक केही नपाएको गुनासो गरेका छन् ।