कटारी नगरपालिकाको खोक्सामा रहेको त्रिवेणीधामको सरसफाइ

आइतबार, २७ माघ, २०८१
डिजिटल संस्करण

माघ १ गतेदेखि २० गतेसम्म सञ्चालन भएको मैनी मेला अर्थात् त्रिवेणी मेलास्थल त्रिवेणीधामको सरसफाइ गरिएको छ । उदयपुरको कटारी नगरपालिका– खोक्सामा रहेको त्रिवेणीधामको सरसफाइ गरिएको हो ।

माघेसंक्रान्तिदेखि २० गतेसम्म चलेको मेलाको कारण मेलास्थलमा भएको फोहोर सरसफाइ गरिएको हो । त्रिवेणी मेला व्यवस्थापनको ठेक्का लिएको चण्डिका सप्लायर्स कटारीको आयोजनमा कटारी नगरपालिका, कटारी अस्पताल, कटारी वडा नम्बर २, नेपाल प्रहरी, मेला व्यवस्थापन समिति त्रिवेणी स्पोर्टस् क्लब खोक्साको सहयोगमा शनिबार सरसफाइ गरिएको चण्डिका सप्लायर्स कटारीका प्रतिनिधि सन्तबहादुर तामाङले बताए । 

उनका अनुसार सरसफाइ कार्यक्रममा कटारी नगरपालिकाकी पूर्वउपमेयर भीमकुमारी राउत, जिल्ला समन्वय समिति उदयपुरका सदस्य विष्णु कटुवाल, इलाका प्रहरी कार्यालय कटारीका प्रहरीहरूलगायतले सहयोग गरेका थिए । 

मेलाको फोहोरका कारण कमला नदीमा दूषित पानी बग्ने र वातावरणमा असर पुग्ने भएकाले सरसफाइ गरिएको मेला व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी चण्डिका सप्लायर्स कटारीको भनाइ छ ।

त्रिवेणी मेला पूर्वीनेपालकै सबैभन्दा लामो समय लाग्ने ऐतिहासिक सांस्कृतिक र सामाजिक महत्त्व बोकेकाे मेलाको रूपमा परिचित छ । यसपालिकाे मेलामा आयोजकका अनुसार ५० करोडको कारोबार भएको छ भने झन्डै २० लाखभन्दा बढी तीर्थालु तथा अवलोकनकर्ता त्रिवेणी मेला पुगेका थिए । 
 

See More On

सुझावित समाचार