राज्यको नीति, नियम बनाउने सन्दर्भमा राजनीतिक नेतृत्वलाई आवश्यक सल्लाह, सुझावका साथै सूचना तथा तथ्यांक उपलब्ध गराउने र बनेका नीति, नियमबमोजिम राज्य र नागरिकबिच रही सार्वजनिक सेवा प्रवाहका लागि स्थायी संयन्त्रका रूपमा सार्वजनिक प्रशासन गठन गरिएको हुन्छ । राज्य र नागरिकबिचको सम्बन्ध सेतुका साथै राज्यका नीति, नियम कार्यान्वयन गर्ने तथा प्राप्त लाभको समानुपातिक वितरण गर्नेजस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका सार्वजनिक पदाधिकारी आफैँमा स्व–उत्प्रेरित र नैतिकवान् भई सोहीअनुसारको व्यवहार प्रदर्शन गरेमा मात्र राज्यका हरेक नागरिकले सुशासनको अनुभूति गर्न सक्छन् ।
शासन सञ्चालनका क्रममा राजनीतिक क्षेत्रले तर्जुमा गर्ने नीति तथा कार्यक्रमका लागि आवश्यक सल्लाह एवं सुझाव दिने, प्रतिपादित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने, शान्ति सुरक्षा, सुव्यवस्था र सुशासन कायम राख्ने उद्देश्यले मानव सभ्यताको सुरुवातसँगै सार्वजनिक प्रशासनको विकास भएको हो । सार्वजनिक प्रशासनमा रहेका व्यक्तिले आफ्नो जिम्मेवारी ग्रहण गरी स्थापित मूल्य, मान्यता, सिद्धान्त र सूचकका आधारमा कार्यसम्पादन गरी पेसागत नैतिकता प्रदर्शन गरेर आदर्श एवं पवित्र सार्वजनिक प्रशासनको पुष्टि गर्नुपर्छ ।
कुनै पनि व्यक्ति, समाज र राष्ट्रको विकास र सभ्यताको सूचकका रूपमा रहेको नैतिकताको सीमा कहाँबाट सुरु भई कहाँ अन्त्य हुन्छ भन्ने स्पष्ट रूपमा उल्लेख गर्न नसकिने भए पनि विवेकशील मानव जातिको मानवीय आत्मानुशासन नै नैतिकता हो । नैतिकताको विषय व्यक्ति, व्यवसाय, समाज वा सन्दर्भअनुसार फरक–फरक हुन सक्छ । जस्तै– निर्णय तहमा बसेका पदाधिकारीका लागि सचेत निर्णय नैतिकता हो भने कार्यान्वयन तहमा रहेका पदाधिकारीका लागि सदाचार, निष्ठा, इमानदारी तथा सार्वजनिक नीति–नियम कार्यान्वयन गर्नु–गराउनु नैतिकताको विषय हो ।
सार्वजनिक पदाधिकारी स्व–उत्प्रेरित र नैतिकवान् भई सोहीअनुसारको व्यवहार प्रदर्शन गरेमा मात्र राज्यका हरेक नागरिकले सुशासनको अनुभूति गर्न सक्छन्
सामान्यतया इमानदार तथा नीति, नियम पालना गरी अनुशासनमा रहेको व्यक्तिलाई नैतिकता भएको व्यक्ति मानिन्छ । कुनै व्यक्ति, समाज, राष्ट्र वा परिवेशका लागि उच्च नैतिकताको विषय अर्को व्यक्ति, समाज, राष्ट्र वा परिवेशका लागि कम नैतिकताको विषय हुन सक्छ । नैतिकता नितान्तः तुलनात्मक विषय भएकाले सहजै रूपमा को नैतिक वा को अनैतिक भन्न सकिने अवस्था हुँदैन ।
राजनीतिक रूपमा तटस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिकवान् रहेको व्यावसायिक प्रशासन निर्माण गर्न सकेमा मात्र सार्वजनिक प्रशासनमा निष्पक्षता, स्वच्छता, निःस्वार्थता, इमानदारी, सदाचारिता, कार्यकुशलता, जिम्मेवारी, पारदर्शिता, उत्तरदायित्व, समानता, समता एवं सेवाको भावना विकास हुन गई सार्वजनिक प्रशासनमा नैतिकता कायम हुन सक्छ ।
व्यक्तिमा अन्तरनिहित मूल्य–मान्यता, आचरण र विवेकका आधारमा नैतिकता निर्धारण हुने भएकाले व्यक्ति आफैँले असल र खराब छुट्याई असल आचरणप्रति आफूलाई केन्द्रित गर्नुपर्छ । नैतिकताको विषय सबैका लागि महत्वपूर्ण साधन भए पनि सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि नैतिक दायित्व अझ बढी हुन्छ । सार्वजनिक पदमा बसेका पादाधिकारीले निर्धारित नीति–नियमको परिधिभित्र रही न्यायको पक्षपोषण, असल आचरण, इमानदार, दायित्वप्रति सजग, विवेकशील व्यवहार, असल संस्कार, निष्पक्ष, सहयोगी भावना प्रदर्शन गर्नुपर्छ । सार्वजनिक पदमा रहेका पदाधिकारीले इमानदारी, आफ्नो कर्तव्य र जिम्मेवारी वहन, अरूको सम्मान, सहानुभूति र नैतिकताजस्ता पक्षमा ध्यान दिनुको सट्टा आफ्ना इच्छा र चाहनालाई बेलगाम छाड्दा सार्वजनिक प्रशासनको नैतिकतामा ह्रास आउन सक्छ ।
प्रसिद्घ विद्वान् सोक्रेटसले कसैलाई हानि नपु¥याउने, आफ्नो वचन पालना गर्ने र आफ्ना गुरु तथा बाबुआमाको आज्ञापालन र श्रद्धा गरी जम्मा नैतिकतामा तीन नियम हुने बताएका छन् । त्यस्तै, व्यक्तिले आफ्नो व्यक्तिगत जीवनमा गर्ने निर्णय र आचरणलाई निर्देशित गर्ने व्यक्तिगत नैतिकता, समाजका अन्य मानिससँग गरिने व्यवहारमा आधारित सामाजिक नैतिकता र कार्य क्षेत्रमा व्यावसायिक आचरण, इमानदारी र जिम्मेवारीको पालनालाई सम्बोधन गर्ने व्यावसायिक नैतिकता मुख्य रूपमा रहेका हुन्छन् । नैतिकताको विषय व्यक्तिगत जीवनमा भन्दा सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिकजस्ता सार्वजनिक जीवनमा बढी महत्वपूर्ण हुन्छ । सार्वजनिक पद धारण गरेको अधिकारीले निर्णय लिँदा नैतिक मूल्य र मान्यताबमोजिम उपयुक्त निर्णय लिनुपर्छ । सार्वजनिक पदाधिकारीले काम गर्दा वैयक्तिक लोभ, लालच र स्वार्थबाट अलग रहनुपर्छ । सार्वजनिक सरोकारका विषयमा अवलम्बन गरिएको कार्यविधि वस्तुपरक हुनुपर्छ । सार्वजनिक पद र अधिकार प्रयोग गर्ने व्यक्तिले प्रयोग गर्ने साधन, स्रोत, भूमिका एवं उसले सम्पादन गर्ने र गरेको कामप्रति ऊ स्वयं जवाफदेही हुनुपर्छ । सार्वजनिक पदीय भूमिका निर्वाह गर्दा आफूमा निहित पेसागत क्षमताका साथै असल आचरण, इमानदारी एवं दायित्वप्रति सजग हुन सकेमा आबद्ध संस्था नैतिकवान् हुनुका साथै सो संस्थाप्रति जनविश्वास बढ्दै जान्छ ।
नेपालको संविधान, निजामती सेवा ऐन तथा नियमावलीलगायत अन्य क्षेत्रगत ऐन तथा नियमावलीले सार्वजनिक सेवालाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, सेवामूलक, उत्तरदायी र सुदृढ बनाउने लक्ष्य लिएको छ । सार्वजनिक सेवालाई सरल र सहज रूपमा आम नागरिकसमक्ष पु¥याउन कुनै पनि सार्वजनिक पदाधिकारीले पदबहाली गर्नुअघि विवेक र आत्मालाई साक्षी राखी शपथ लिनुपर्छ । उसले पालन गर्नुपर्ने अनुशासन र पदीय आचरणका विषय, कार्यसम्पादनमा अवलम्बन गर्नुपर्ने सिद्धान्त आदि पनि प्रस्ट तोकिएको छ । आन्तरिक एवं बाह्य अनुगमन, सुपरीवेक्षण, कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइ तथा कार्यप्रणाली, समय परिपालना, ड्रेस कोड, परिचय पत्र तथा संगठनमा छड्के जाँच गर्ने व्यवस्था पनि गरिएको छ । साथै, आचरण र अनुशासन पालन नगर्ने कर्मचारीलाई विभागीय सजायको व्यवस्थासमेत गरिएको छ । त्यस्तै, सार्वजनिक प्रशासनलाई सदाचारी, अनुशासित र नैतिक बनाई सेवानिष्ठ पार्ने कर्मचारीलाई विभिन्न पुरस्कार तथा अन्य मौद्रिक वा गैरमौद्रिक सेवा–सुविधाको व्यवस्था गरिएको भए पनि व्यवहारमा अपेक्षाकृत सुधार हुन सकेको छैन । नीति–नियममा व्यवस्था गरिएको सेवा–सुविधामा अनुशासित, सदाचारी र नैतिकवान् कर्मचारीभन्दा राजनीतिक तथा आर्थिक पहुँचवाला कर्मचारी रमाइरहेका छन् ।
निष्पक्ष छनोट प्रक्रियाबाट छानिएका, कामप्रति लगाव भएका, कार्यकुशलता, निष्ठा, अनुशासन, सेवामैत्री भावना एवं समन्वयात्मक सीपको विकास भएका व्यक्तिबाट सार्वजनिक सेवा प्रवाहको परिकल्पना गरिएको छ । सार्वजनिक सेवामा रहेका निर्णयकर्ताले निश्चित मापदण्डका आधारमा निर्णय गर्नुपर्नेमा परम्परावादी कार्यशैली, पदीय घमण्ड, आत्मकेन्द्रित प्रशासन, ढिलासुस्ती, भ्रष्टाचार, नातावाद, कृपावाद, राजनीतीकरणजस्ता विकृतिले सेवामा प्रश्रय पाउँदा सार्वजनिक प्रशासनलगायत विभिन्न पेसा र व्यवसायमा संलग्न कर्मचारीको नैतिकतामा ह्रास आएको देखिन्छ । त्यसका कारण सार्वजनिक प्रशासन, राजनीतिकलगायत सबै संगठनप्रति नागरिकको विश्वास घट्दै गएको पाइन्छ ।
सार्वजनिक पदीय भूमिका निर्वाह गर्दा आफूमा निहित पेसागत क्षमताका साथै असल आचरण, इमानदारी एवं दायित्वप्रति सजगता देखाउन सकेमा आबद्ध संस्था नैतिकवान् हुनुका साथै सो संस्थाप्रतिको जनविश्वास बढ्छ
मुलुकमा राजनीतिक रूपान्तरणको कार्य सकिएका सन्दर्भमा नियम कानुनका साथै हाम्रो संस्कार, कार्यशैली र व्यवहारमा एकसाथ रूपान्तरण गरी जनतामा कानुनी शासन कायम भएको अनुभूति दिलाउन आवश्यक छ । यसका लागि सार्वजनिक प्रशासनमा सुस्पष्ट सोच, कार्यक्रमिक प्रतिबद्धता र कार्यान्वयनका लागि दृढ संकल्प भएमा मात्र राज्यले लिएको सुशासनको नीतिलाई सफल बनाउन सकिन्छ । साथै प्रशासकमा रहेको परम्परागत सोच तथा व्यवहारलाई परिवर्तन गरी जनताको सेवकका रूपमा रूपान्तरण गराउन शासन प्रणालीअन्तर्गतको सार्वजनिक प्रशासन अझ बढी व्यावसायिक, प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउनु आवश्यक छ । यसका लागि नैतिक पक्षका साथै विश्वास, धर्म, रीतिरिवाज र परम्पराजस्ता सामाजिक मूल्य परिवार र समाजबाट प्रदान गर्नुका साथै हाम्रा विद्यालय, महाविद्यालय र विश्वविद्यालयले अबका पाठ्यक्रममा नैतिक शिक्षामा आधारित विषयवस्तु समावेश गरिनु आवश्यक छ ।
सार्वजनिक प्रशासन विधि एवं प्रक्रियाका आधारमा चल्ने भएकाले नीति–निर्माण गर्ने राजनीतिले चाहेजस्तो तीव्र गतिमा सेवा प्रवाह गर्न त नसकिएला, तर सरकारको भूमिकामा आएको परिवर्तन, विश्वव्यापीकरण, आर्थिक उदारीकरण, बजारमुखी अर्थ व्यवस्था, प्रविधिको विकासजस्ता कारणले मानिसको सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक चेतनामा आएको बढोत्तरीसँगै नागरिक सरोकार र राज्यको हित प्रवद्र्धन गर्नु जरुरी छ । यसका लागि सरकारले अवलम्बन गर्ने प्रणाली, प्रक्रिया, मापदण्ड र कार्यशैली अपनाई सार्वजनिक सेवाको विश्वसनीयता, गुणस्तर, व्यवहार तथा कार्यशैलीमा सुधारको खाँचो छ । साथै, सार्वजनिक सेवा प्रवाहको मापदण्ड निर्धारण गरी प्रविधिमा आधारित सेवा प्रवाह गर्ने प्रणाली स्थापित गर्न सकेमा जनअपेक्षाबमोजिम सेवा प्रवाह हुनुका साथै सार्वजनिक प्रशासनको उच्च नैतिकता कायम रहन्छ ।
अतः कानुनी, सामाजिक एवं व्यावसायिक विषयका रूपमा रहेको नैतिकतालाई राज्यको एक व्यक्ति, निकाय वा पक्षले मात्र अनुसरण गरेर पुग्दैन । यसका लागि हाम्रो सामाजिक संस्कार तथा व्यवहारमा सुधार ल्याउनु जरुरी छ । साथै, सार्वजनिक प्रशासनमा पारदर्शिता, स्वच्छता, सदाचारिता, कार्यकुशलता, निष्ठा, अनुशासन एवं सेवामैत्री भावनाको विकास गराउनु पनि आवश्यक छ । सार्वजनिक सेवालाई विश्वसनीय, गुणस्तर एवं पूर्वानुमानयोग्य बनाउन सार्वजनिक पदाधिकारीलगायत सबै नागरिकले समान रूपमा यसको अवलम्बन र अनुसरण गरी सिंगो समाज र राज्यलाई नैतिकवान् बनाउनु आजको आवश्यकता हो ।
(खनाल ललितपुर जिल्ला अदालतका अधिकृत हुन्)