आजदेखि लगाइँदै छ पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप

मंगलबार, २२ माघ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्रीले काठमाडौंको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरूले सातै प्रदेशबाट बिहान ११ बजे गर्नेछन् खोपको शुभारम्भ

१० देखि १४ वर्षका १६ लाख ८८ हजार ६८८ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप आज मंगलबारदेखि लगाइँदै छ । प्रधानमन्त्री केपी ओलीले काठमाडौंको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरूले सातै प्रदेशबाट बिहान ११ बजे खोप अभियानको शुभारम्भ गर्नेछन् । हरेक विद्यालयमै गएर खोप दिइनेछ भने विद्यालय पहुँचबाहिर रहेका बालिकालाई लक्षित गरेर देशभर आठ हजार दुई सय खोप केन्द्र पनि तोकिएको छ ।
विश्व क्यान्सर दिवसको अवसर पारेर सञ्चालन गर्न लागिएको एचपिभी खोप अभियानको सबै तयारी पूरा भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नै खोप पूर्ण रूपमा सुरक्षित घोषणा गरेकाले कुनै शंका गर्नु नपर्ने उनको भनाइ छ ।

‘यो पाठेघरको मुखको क्यान्सरबाट जोगाउने खोप हो, यसमा लक्षित समूहका कोही पनि बालिका छुट्नुहुँदैन, यसको एउटा खोप नै पूरा डोज मानिन्छ,’ उनले भने, ‘देशभरका सबै स्थानीय तह र विद्यालयहरूले तोकिएको समयावधिभित्र खोप अभियान सञ्चालन गर्नेछन् ।’

६ फागुनसम्म चल्ने खोप अभियानका लागि सातै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हुँदै स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयहरूमा खोप पुगिसकेको छ । मंगलबार बिहानै सम्बन्धित खोप केन्द्रमा पु¥याइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा ७० करोड पाँच लाख मूल्यको १७ लाख ७० हजार २० डोज खोप ल्याएको छ । यसमा १२ करोड हाराहारी बजेट नेपाल सरकारले खर्च गरेको छ भने अन्य गाभीले व्यहोरेको छ ।

खोप कार्यक्रमका लागि केन्द्रबाट स्वास्थ्य सेवा विभागले समन्वय गरेको छ भने हरेक जिल्लाको जनस्वास्थ्य कार्यालय, पालिका हुँदै विद्यालयबाट खोप वितरण गरिँदै छ । लक्षित समूहलाई सो खोपको पहुँचमा ल्याउन यसअघि नै देशैभरका निजी र सरकारी विद्यालयलाई विभागले परिपत्र गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका निजी र सरकारी गरी १८ हजार नौ सय विद्यालयबाट सो खोप लगाइँदै छ । खोप अभियानका लागि सरकारले ५४ हजार १६० स्वयंसेवक परिचालन गरेको छ भने १५ हजार ६७५ सुपरिवेक्षक खटाएको छ । यो अभियानको व्यवस्थापनमा मात्रै तीन करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार हाल यो खोप विश्वका १४४ मुलुकमा नियमित प्रयोग भइरहेको छ । यो खोप सन् २००६ देखि प्रयोगमा ल्याइएको हो । भविष्यमा नेपालमा पनि पाठेघरको मुखको क्यान्सर हुनेको संख्या बढ्ने जोखिम देखिएकाले रोकथामका लागि हाल एउटा उमेरतह तोकेर खोप कार्यक्रम गर्न लागिएको हो । यो खोप शारीरिक सम्पर्क तथा यौन क्रियाकलापमा सक्रिय नहुँदैको अवस्थामा दिँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहलाई लक्षित गरिएको छ । विश्वमा महिलालाई सबैभन्दा धेरै स्तन क्यान्सर हुने गरेकामा मृत्युदर भने पाठेघरको मुखको क्यान्सरबाट धेरै रहेको डा. गौतमले बताए । खोप प्रयोग भएका देशमा पनि १० देखि १४ वर्षका बालिकामा प्रभावकारिता बढी देखिएको र कुनै साइडइफेक्ट नभएको बताइएको छ ।

सरकारले यसै वर्षदेखि अब हरेक वर्ष फागुन महिनालाई क्यान्सर स्क्रिनिङ टेस्ट महिनाको रूपमा मनाउने घोषणा गरिसकेको छ । अब हरेक वर्ष फागुन महिनामा एचपिभी खोप लगाइनेछ । हाल दिन लागिएको खोपको नाम ‘सिकोलिन’ हो जुन चीनले उत्पादन गरेको हो । सिकोलिन खोपलाई विश्व स्वास्थ्य संगठनले नै मान्यता दिइसकेको र विश्वसनीय मानिएकाले खरिद गरिएको डा. गौतमले जानकारी दिए ।

एचपिभी खोप अभियान थाल्नुअघि राष्ट्रिय खोप सल्लाहकार समितिले गत २३ असोजमा स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको थियो । सोही आधारमा मन्त्रालयले ८ कात्तिकमा खोप दिने निर्णय गरेको थियो ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण वार्षिक एक हजार ३१३ जनाले ज्यान गुमाउँछन् । यो आधारमा दैनिक चार महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको छ । त्यस्तै, विभागका अनुसार वार्षिक दुई हजार १६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यही डरलाग्दो तथ्यांकलाई न्यूनीकरण गर्न सरकारले खोप अभियान चलाउन लागेको हो ।

विश्वमा हरेक वर्ष पाँच लाख ७५ हजारभन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यो विश्व स्वास्थ्य संगठनको तथ्यांक हो । यो तथ्यांक आगामी सन् २०३० सम्ममा बढेर सात लाख पुग्ने चेतावनी संगठनको छ । त्यसैले विभिन्न मुलुक यसको रोकथामका लागि खोप अभियानमा लागेका छन् । संगठनकै तथ्यांकअनुसार हरेक वर्ष पाठेघरको क्यान्सरका कारण विश्वमा तीन लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ ।

विद्यालयबाहिरका बालिकालाई अन्तिम दिन खोप लगाइने
एचपिभी खोप लगाउने लक्षित बालिका विद्यालयको पहुँचबाहिर पनि छन् । यस्ता बालिकालाई लक्षित गरेर देशभर आठ हजार दुई सय खोप केन्द्रमार्फत खोप लगाइनेछ । स्थानीय स्वास्थ्य चौकी, स्वास्थ्य संस्था, जिल्ला जनस्वास्थ्य कार्यालयलगायतमा यस्ता खोप केन्द्र तोकिएको छ । पालिकाभित्रका विद्यालयका बालिकालाई खोप लगाइसकेपछि मात्रै विद्यालयबाहिरका बालिकालाई खोप लगाइनेछ । तर, विद्यालयबाहिरका भए पनि सीमा क्षेत्र, औद्योगिक क्षेत्र र विभिन्न कलकारखानाका लक्षित बालिकालाई भने उनीहरूको कार्यक्षेत्रमै खोप केन्द्र राखेर विद्यालयमा खोप लगाउने अवधिभित्रै दिइनेछ । विद्यालयमा ६ फागुनसम्म खोप लगाउने योजना भए पनि एक–दुई दिन ढिलोचाँडो पनि हुन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० कक्षामा पढ्ने कतिपय बालिका १५ वर्ष उमेरका छन् भने वा कतिपय ११ मा पढ्ने १४ वर्षका भए पनि उनीहरूलाई पनि खोप दिइनेछ ।

स्वास्थ्य मन्त्रालय भन्छ :
– यो खोप विश्वका १४४ मुलुकमा नियमित प्रयोग भइरहेको छ । विश्व स्वास्थ्य संगठनले नै पूर्ण रूपमा सुरक्षित घोषणा गरेकाले खोपमा शंका गर्नुपर्दैन ।

– दिन लागिएको खोपको नाम ‘सिकोलिन’ हो, जुन चीनले उत्पादन गरेको हो ।

– नेपालमा पाठेघरको मुखको क्यान्सरबाट वार्षिक १३ सय १३ को ज्यान जान्छ ।

सुझावित समाचार