झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो संख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन्।
जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन्।
कनकाई नगरपालिका, मेचीनगर, बुद्ध शान्ति र अर्जुनधारामा एक/एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगन्जमा पाँच/पाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुई/दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेका छन्। आर्थिक वर्ष ०७९/८० मा एक सय ६० तथा आव ०८०/८१ मा एक सय २२ जना नयाँ कुष्ठरोगी फेला परेका छन्।
जिल्लामा हात्तीपाइले रोगको संक्रमणसमेत उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटी बताउँछन्। जिल्लामा हाल हात्तीपाइले रोगीको संख्या करिब दुई हजार दुई सय रहेको उनले बताए। प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आएको छ। प्रादेशिक अस्पताल भद्रपुरका डा. सुजन काफ्लेले आर्थिक वर्ष ०७९/८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरंग (ओपिडी) सेवा सुरु भएको बताए।
'हात्तीपाइले रोगको उपचारका लागि सरकारले वार्षिक रु. दुई लाख उपलब्ध गराउने गरेको छ,' उनले भने। 'बिरामीलाई यातायात खर्च दिन्छौँ, रकम पर्याप्त हुँदैन, विपन्न वर्गका धेरै बिरामी छन्, आर्थिक अभावले उनीहरू उपचार गराउन आउँदैनन्,' डा. काफ्लेले भने।