कांग्रेसका मन्त्रीलाई काम गर्न कुनै अप्ठ्यारो छैन : बद्री पाण्डे

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका सह–महामन्त्री एवं नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले एमालेको नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई काम गर्न कुनै अप्ठ्यारो नभएको बताएका छन्।

नेपाली कांग्रेस बागलुङले शनिबार बिहान आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी ओलीको भए तापनि कांग्रेसका मन्त्रीहरूलाई काम गर्न कुनै अप्ठ्यारो नभएको बताए। 

उनले प्रधानमन्त्री ओलीले अभिभावकत्व निभाएको र हरेक निर्णय सहमति र समन्वयमा भएको दाबी गरे। पाण्डेले कांग्रे- एमाले दुवै एकअर्काका सहायात्री र प्रतिस्पर्धी दल भएको बताउँदै २०८४ को निर्वाचनसम्म अहिलेकै गठबन्धन रहने बताए। ‘सरकार ढल्छ भनेर केही तत्वहरूले अफवाह फैलाउने काम गरे तापनि अहिले नै सरकार ढल्दैन, यसमा सबै ढुक्क हुनुहोस् आउँदो निर्वाचनसम्म यही गठबन्धन चल्नेछ, मन्त्री पाण्डेले भने,–‘अहिलेको गठबन्धन राजनीति स्थायित्वका लागि हो देशका दुई ठुला दल एक भएर मुलुकको विकासका निम्ति लागिपरेका छन, सरकार ढल्ला र खाउला भनेर बसेकाहरूले विभिन्न हल्ला फिजाए पनि यो गठबन्धन दिगो रहन्छ। उनले कांग्रेस र एमालेकै प्रतिस्पर्धा भए तापनि सरकार भने मिलेरै चलाउने बताए। 

उनले आफ्नो मन्त्रालयले जनमुखी र लोकप्रिय कामभन्दा पनि नीतिगत परिणाम दिने काम गरेको बताए। ‘हामी सुदन किराँतीले झैँ मन्त्रालयमा झाडु लगाउने काम गर्ने हैन नीतिगत व्यवस्था परिवर्तनका लागि काम गर्ने हो, मन्त्री पाण्डेले भने, ‘अहिले मन्त्रालयले संस्कृति नीति, पर्यटन नीति तयार पार्दै छ, २०१५ सालमा निर्माण भएको हवाई नीतिलाई पनि संशोधन गर्न जरुरी रहेको छ।

यी सबै नीतिहरू अब आउने हिउँदे अधिवेशनमा हामी टेबुल गर्नेछौँ, यिनलाई कार्यान्वयन गर्न सकियो भने पर्यटन क्षेत्रको विकासका निम्ति थप सहयोग पुग्नेछ।’ उनले पर्यटन क्षेत्रको विकासका र सुधारका निम्ति निजी क्षेत्रको साथमा लिएर अगाडि बढ्न जरुरी रहेको बताए।

पाण्डेले दुर्घटना हुँदा बन्ने जाँचबुझ आयोगलाई स्थायी प्रकृतिको जाँचबुझ आयोग निर्माण गर्ने गरी आफ्नो मन्त्रालयले काम गरेको बताए। पाण्डेले बागलुङ ढोरपाटन सिकार आरक्षको विकास र यस क्षेत्रका पर्यटकिय क्षेत्रको विकासका लागि सरकारले नीतिगत व्यवस्थामा अगाडि बढाउन जरुरी रहेको बताए। 
 

सुझावित समाचार