‘संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किनु उचित होइन’

पूर्वराष्ट्रपति भण्डारीलाई एमाले उपमहासचिव ज्ञवालीको जवाफी सन्देश

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने आधार बनाइरहेका वेला एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनको यस्तो कदम उचित नहुने बताएका छन् । भण्डारीले डेढ महिनाकै बिचमा गण्डकी हुँदै कोशी प्रदेशका विभिन्न कार्यक्रममा सरिक भएर राजनीतिमा फर्किन सक्ने सन्देश दिएपछि एमालेमा अध्यक्ष केपी ओलीनिकट मानिने नेता ज्ञवालीले ‘उचित नहुने’ जवाफ दिएका हुन् । 

कोशी प्रदेशको विराटनगर र इटहरीका विभिन्न कार्यक्रमपछि आवश्यकता परे एमालेको राजनीतिमा फर्किने पूर्वराष्ट्रपति भण्डारीको अभिव्यक्ति आएकै भोलिपल्ट बुटवलबाट उपमहासचिव ज्ञवालीले त्यस्तो कदम चाले उचित नहुने जवाफ फर्काए । पूर्वराष्ट्रपति भण्डारी तीन दिनदेखि कोशी प्रदेशमा छिन्, जहाँ उनले एमालेकै नेता–कार्यकर्तासँग भेटघाट जारी राखेकी छिन् । 

बुधबार उपमहासचिव ज्ञवालीले प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनबाट जवाफी सन्देश फर्काए । पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याउनेबारेमा अहिलेसम्म पार्टीभित्र कुनै छलफल नभएको भन्दै उनले त्यसरी फर्किनु उचित नहुने तर्क गरे ।

‘संवैधानिक राष्ट्रप्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित होइन, एमालेमा पनि केही चर्चा बजारमा सुनिएको छ । तर, विद्या भण्डारी आफैँ नै राजनीतिमा आउनुहुन्छ भन्ने मलाई लाग्दैन । त्यो राम्रो पनि होइन,’ ज्ञवालीले भने, ‘सामान्य अवस्थामा एमालेमा त्यो सम्भव देख्दिनँ । असामान्य अवस्थामा तत्काल सल्लाह हुने कुरा फरक हो । अध्यक्षको प्रतिस्पर्धा गर्ने गरी आउने भन्ने कुरा सत्य होइन, अनुमान मात्रै हो ।’

मंगलबार मात्रै पूर्वराष्ट्रपति भण्डारीले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एमालेको राजनीतिमा फर्किन सक्ने प्रस्ट सन्देश दिएकी थिइन् । ‘राष्ट्रपति पद गैरराजनीतिक होइन, त्यसैले म राष्ट्रिय राजनीतिमा सक्रिय नै छु,’ भण्डारीले पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘मैले सुरुमा माले र त्यसपछि बनेको एमालेमा लामो समय बिताएकाले आवश्यक परेमा पुनः एमालेको राजनीतिबाट सक्रिय हुनुपर्ने अवस्था आउन सक्छ ।’ उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउन लागेकोमा खुसी व्यक्त गर्दै शुभकामनासमेत दिएकी थिइन् ।

सुझावित समाचार