गाजाबाट प्यालेस्टिनीलाई हटाउने ट्रम्पको तयारी

सोमबार, १४ माघ, २०८१
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका छन् । मध्यपूर्वमा शान्ति स्थापनाका लागि इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई त्यहाँबाट हटाउनु उचित भएको ट्रम्पले बताए । इजरायल–हमास युद्धपछि गाजालाई ‘विध्वंसस्थल’को संज्ञा दिँदै ट्रम्पले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग यस विषयमा कुरा भएको र आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग कुरा गर्ने योजना रहेको बताए । 

‘इजिप्टले गाजामा रहेका आफ्ना मानिसहरूलाई लिएर जाओस् र जोर्डनले पनि त्यसै गरोस् भन्ने म चाहन्छु’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँगको कुराकानीमा भने । ‘तपाईं सायद १५ लाख मानिसका बारेमा चिन्ता व्यक्त गर्दै हुनुहुन्छ । हामी त्यो सबै खाली गर्न चाहन्छौँ । तपाईंलाई थाहा छ, शताब्दियौँदेखि यो स्थानमा धेरै संघर्ष थिए । मलाई थाहा छैन, तर त्यहाँ केही हुनुपर्छ ।’

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसंख्यामध्ये अधिकांश विस्थापित भएका छन् । ट्रम्पले गाजाका बासिन्दालाई स्थानान्तरण गर्नु ‘अस्थायी वा दीर्घकालीन पनि’ हुन सक्ने बताएका छन् । 

‘यो वास्तवमै अहिले भत्काइने ठाउँ हो, लगभग सबै ध्वस्त भएको छ र मानिसहरू त्यहाँ मरिरहेका छन्,’ ट्रम्पले भने, ‘त्यसैले म बरु केही अरब राष्ट्रहरूसँग वार्ता गर्न चाहन्छु र फरक स्थानमा आवास निर्माण गर्न चाहन्छु जहाँ उनीहरू परिवर्तनसँगै शान्तिसाथ बस्न सकून् ।’ पूर्वअमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनको अन्तिम दिन इजरायल र हमासबिच भएको युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता दोस्रो हप्तामा प्रवेश गरेका वेला शनिबार उनको सो भनाइ आएको हो । 

ट्रम्प प्रशासनले इजरायललाई ‘अटुट समर्थन’ गर्ने वचन दिएको छ, तर मध्यपूर्व नीतिको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती बाइडेनले रोकेको इजरायलका लागि दुई हजार पाउन्डबराबरको बम पठाउन पेन्टागनलाई आदेश दिएको शनिबार पुष्टि गरेका छन् ।
 

See More On

सुझावित समाचार