१५ माघदेखि सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

आगामी मंगलबार अर्थात् १५ माघदेखि कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै छ। नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर खुलामञ्चमा महोत्सव हुन लागेको हो।

‘सांस्कृतिक, धार्मिक, ऐतिहासिक पर्यटकीय सम्पदाको पहिचान, समृद्ध एवं सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मूल नारा अघि सारेर कञ्चनपुर पर्यटन महोत्सव सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।

नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक ललित परियारको अध्यक्षतामा १२१ मूल आयोजक समिति र विभिन्न १४ उपसमितिसमेत गठन गरेर मेलाको तयारी भइरहेको छ। नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक एवं मेला मूल आयोजक समितिका कार्यक्रम संयोजक परियारले मेलाको तयारी तीव्र रूपमा अघि बढेको बताए। कोरोना महामारीपछि थलिएको अर्थतन्त्रमा सुधार ल्याउनुका साथै आमउद्योगी, व्यवसायी, कृषकले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको उनले बताए।

मेलामा लघु उद्यम, अटो, कृषि, गार्मेन्ट, वैकल्पिक ऊर्जा, गुणस्तरीय दैनिक उपभोग्य समग्री, विद्युतीय सामग्री, शिक्षा, बाल उद्यान, स्वास्थ्यसहित विभिन्न प्रदर्शनी गरिने बताइएको छ। करिब १५० स्टल रहने मेलामा छिमेकी मुलुक भारतबाटसमेत गरी १ लाख दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमका थारू एवं पहाडी समुदायका परम्परागत मौलिक खाना, कलासहित छुट्टै थारू गाउँको स्टल रहनेछ। मेलाबाट हुने आम्दानीसमेत सामाजिक कार्यमा खर्च गरिने बताइएको छ।

मेलामा जिल्लाभरिका अन्तर-विद्यालय विद्यार्थीबिच नृत्य प्रतिस्पर्धासमेत गराइनेछ। प्रथम हुने विद्यालयलाई नगद १० हजार, द्वितीयलाई सात हजार र तृतीयलाई तीन हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ।

मेला महोत्सव सांस्कृतिक संयोजक करन पालका अनुसार स्थानीय एवं राष्ट्रिय कलाकारबाटसमेत सांस्कृतिक कार्यक्रम हुनेछ। ओझेलमा परेको कलादेखि चर्चामा आएका सबै स्थानीय एवं राष्ट्रिय कालाकारहरूलाई स्थान दिइने उनले बताए। 

सुझावित समाचार