विपत् प्राधिकरणको सिइओका लागि पाँचजना सर्टलिस्टमा

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि गृह मन्त्रालयले पाँचजनाको नाम प्रस्तुतीकरणका लागि छनाेट गरेको छ। १६ जनाले आवेदन दिएकोमा पाँचजना ‘सर्टलिस्ट’मा परेका हुन्। 

बैतडीका दिनेशप्रसाद भट्ट, डडेल्धुराका धर्मराज उप्रेती, कास्कीका वसन्तराज अधिकारी, रोल्पाका मन्दीप सुवेदी र मोरङका सुमनकुमार कर्ण प्रस्तुतीकरणका लागि छनाेट भएका हुन्। उनीहरू सबैलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि १७ माघमा समय तोकिएको छ । 

शैक्षिक योग्यता, तालिम र अनुभवबापतको अंक एवं सोचपत्र र व्यावसायिक कार्ययोजना मूल्यांकन आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने पाँचजना प्रस्तुतीकरणका लागि छनाेट भएको गृह मन्त्रालयले जनाएको छ । 

प्राधिकरणका यसअघिका सिइओ अनिल पोखरेलले पदावधि पूरा गरी अवकाश पाएपछि रिक्त पदमा खुला प्रतिस्पर्धामार्फत नयाँ सिइओ नियुक्त गर्न लागिएको हो। छनाेटका लागि सरकारले गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा समिति गठन गरेको छ। हाल गृह मन्त्रालयले सहसचिव डा. भीष्मकुमार भुसाललाई प्राधिकरणको निमित्त सिइओको जिम्मेवारी दिएको छ। 
 

सुझावित समाचार