भारतीय राजदूतले भेटे उपराष्ट्रपति यादव, द्विपक्षीय सम्बन्धदेखि आर्थिक विकासबारे छलफल

शुक्रबार, ४ माघ, २०८१
डिजिटल संस्करण

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन्। उपराष्ट्रपति यादवलाई भारतको गणतन्त्र दिवस समारोह (२६ जनवरी)का लागि भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहको निमन्त्रणा दिन राजदूत श्रीवास्तव पुगेका थिए।

भेटमा दुई देशका विभिन्न पक्षमा छलफल भएको बताइएको छ। उपराष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार भेटमा दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरू, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहयोग र सहकार्यलगायतका विषयमा छलफल भएको थियो।

उपराष्ट्रपति यादवले नेपाल र भारतबिच सौहार्दता, मित्रता, सदभावना, आपसी समझदारी र सहयोगले गाँसिएको गहिरो एवं बृहत् सम्बन्ध रहिआएको बताए। ‘दुई देशबिचका सम्बन्धहरू सार्वभौमिक समानता, असल छिमेकीपन, आपसी सम्मान र पारस्परिक विश्वासका सिद्धान्तमा आधारित छन्,’ उपराष्ट्रपति यादवले भने, ‘नेपाल र भारतबिच सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक सम्बन्ध एवं जनस्तरको घनिष्ठ सम्बन्धको शताब्दीयौँ पुरानो परम्परा छ।’

उपराष्ट्रपति यादवले हालैका वर्षहरूमा नेपाल–भारत सहयोग र विकास साझेदारी (विशेषगरी सीमापार पूर्वाधार विकास र ऊर्जा क्षेत्र)मा राम्रो गति लिएकोमा खुसी व्यक्त गरे।  ‘छिमेकीलाई प्राथमिकता दिने भारतको ‘छिमेक प्रथम’ नीतिको नेपाल प्रशंसा गर्दछ, यसबाट भारतले आफ्ना छिमेकी राष्ट्रहरूलाई दिएको प्राथमिकता र महत्त्व प्रतिबिम्बित हुन्छ,’ उपराष्ट्रपति यादवले भने, ‘निकट छिमेकीका नाताले भारतसँग नजिकको सहकार्य गर्न पाउँदा खुसी छौँ।’

उपराष्ट्रपति यादवले भारत नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहिआएको उल्लेख गर्दै नेपालले भारतबाट आर्थिक, प्राविधिकलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त गर्दै आएको उल्लेख गरे।  ‘हवाई, सडक र रेलमार्ग, पेट्रोलियम पदार्थको पाइपलाइन, जलविद्युत् तथा प्रसारणलाइनको विकास, एकीकृत जाँच चौकी (आइसिपी) र मानव संसाधन विकासका क्षेत्रमा नेपाल–भारत सहकार्य महत्त्वपूर्ण छ,’ उपराष्ट्रपति यादवले भने, ‘निकट छिमेकीका रूपमा हाम्रा दुई देशको विगत, वर्तमान र भविष्य जोडिएको छ, हाम्रा जनताको प्रगति र समृद्धिका लागि हाम्रो मित्रता तथा सहकार्य थप मजबुत हुनुपर्दछ।’

नेपालको विकास प्राथमिकताहरूमा हरित, दिगो र समावेशी आर्थिक विकास हासिल गर्नुका साथै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत्, व्यापार, लगानी, पर्यटन र मानव संसाधन विकास रहेको उपराष्ट्रपति यादवले बताए। ‘सन् २०२६ सम्ममा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै छ, यस संक्रमणकालमा हामीले आफ्नो क्षमता विकास गर्नुपर्नेछ,’ उपराष्ट्रपति यादवले भने, ‘यसका निमित्त जनताको दक्षता बढाउने, विभिन्न वस्तुको उत्पादन गर्ने तथा पूर्वाधार निर्माण गर्नेजस्ता विषय पनि हाम्रा प्राथमिकतामा छन्।’ 

उपराष्ट्रपति यादवले सार्क, बिमस्टेक, बिबिआइएनजस्ता क्षेत्रीय तथा संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय मञ्चहरूमा पनि नेपाल र भारतले निकट रूपमा सहयोग र सहकार्य गर्दै आएको उल्लेख गरे। उनले भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा राजदूतमार्फत भारतीय जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।

भारतीय राजदूत श्रीवास्तवले भारतले छिमेक प्रथम नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्दै गहुँ निर्यातमा प्रतिबन्धका बाबजुद नेपालाई दुई लाख टन गहुँ निर्यातका लागि अनुमति दिएको जानकारी दिए। उनले भैरहवामा भारतले यसै वर्ष सम्पन्न हुने गरी एकीकृत सुरक्षा जाँच चौकी निर्माण गरिरहेको बताउँदै नेपाललाई भारतले एक हजार ६४ मेगावाट बिजुली आपूर्ति गरिरहेकोसमेत बताए।

सुझावित समाचार