विपक्षी ६ दलहरूले संसद् छलेर गम्भीर विषयमा अध्यादेश जारी गरी सरकारले खतरनाक, स्वेच्छाचारी र निरंकुश प्रवृत्ति प्रदर्शन गरेको ठहर गरेको छ।
विपक्षी ६ दलको बैठकका निर्णयहरू सुनाउँदै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले संविधानको मर्म तथा भावनामाथि प्रहार गर्नुका साथै संसदीय प्रणालीकै उपहास गरेको बताए।
‘संघीय संसद्को नियमित हिउँदे अधिवेशन बोलाएर कानुन निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयकहरू फिर्तासमेत नलिई सोही विषयमा गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत जारी गर्ने सरकारको कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सरकारको यो कदमबाट संविधानको मर्म तथा भावनामाथि प्रहार हुनुका साथै संसदीय प्रणालीको उपहास गर्ने खतरनाक, स्वेच्छाचारी र निरंकुश प्रवृत्ति प्रदर्शन गरेको छ भन्ने हाम्रो ठहर छ,’ विपक्षी दलहरूले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ।
वक्तव्यमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीले हस्ताक्षर गरेका छन्। वक्तव्यमा हस्ताक्षर नगरे पनि नागरिक उन्मुक्ति पार्टीले पनि सहमति जनाएको प्रचण्डले जानकारी दिए।