गण्डकीमा एक लाखभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

सोमबार, २९ पुष, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका एक लाख १८ हजार ७७४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । 

खोप अभियानअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका तोकिएको उमेर समूहका किशोरीलाई आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिने भएको हो । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले खोप अभियान सञ्चालनका लागि अहिले जिल्ला र स्थानीय तहमा पूर्वतयारीका काम भइरहेको जानकारी दिए। 

‘खोप प्रदान गर्ने स्वास्थ्यकर्मीसहित अन्य सरोकार भएका पक्षलाई अहिले अभिमुखीकरण कार्यक्रम सञ्चालन भइहरेको छ,’ उनले भने, ‘उक्त खोपबाट १० देखि १४ वर्षसम्मका किशोरी वञ्चित हुनु नपरोस् भनेर अहिले समुदायस्तरमा प्रचारप्रसार र सचेतनाका कार्यक्रम पनि गरिरहेका छौँ ।’

संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एचपिभी’ खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेर यो खोपलाई नियमित खोप सेवाको रूपमा प्रदान गर्ने नीति लिएबमोजिम कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई लक्षित गरी खोप प्रदान गर्न लागिएको हो । भविष्यमा पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरूलाई सुरक्षित गर्ने लक्ष्यसहित देशव्यापी रूपमा ‘एचपिभी’ खोप अभियान सञ्चालन हुन लागेको महानिर्देशक खड्काले बताए। 

यो अभियान सम्पन्न भएपछि कक्षा ६ का छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई नियमित खोपका रूपमा यो खोप प्रदान गर्ने सरकारको नीति रहेको उनको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बागलुङका प्रमुख घनश्याम सापकोटाले स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई खोप अभियान सञ्चालनसम्बन्धी दुई दिनको अभिमुखीकरण तालिम प्रदान गरिएको बताए । उनका अनुसार बागलुङमा ११ हजार पाँच सय ५५ जना किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य छ । 

नेपालमा पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुनेको संख्या हरेक वर्ष उच्च रहेकाले उक्त रोग निवारणमा खोप अभियानले योगदान पुर्याउने प्रमुख सापकोटाले बताए। धवलागिरि अस्पतालका स्त्री रोग विशेषज्ञ डा. विजय ओझाले ‘एचपिभी’ खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई ९८ प्रतिशतले घटाउने बताए। 

‘पाठेघरको मुखको क्यान्सरबाट जोगिने प्रभावकारी उपाय भनेको यसविरुद्धको खोप लगाउनु हो,’ उनले भने, ‘समयमा रोगको निदान तथा उपचार नभएर महिलाहरूले मृत्युवरण गर्नुपरेका घटना दोहोरिन नदिन लक्षित समूहका सबै किशोरीहरूलाई खोपको पहुँचमा ल्याउनु जरुरी छ ।’

डा. ओझाका अनुसार पाठेघरको मुखको क्यान्सर नेपालमा महिलालाई सबैभन्दा बढी लाग्ने क्यान्सरको दोस्रो स्थानमा पर्छ । क्यान्सरको कारणबाट महिलाहरूको मृत्यु हुनेमा भने पहिलो मुख्य कारण पाठेघरको क्यान्सर रहेको उनको भनाइ छ । 

यसअघि सरकारले आव ०७२/७३ र ०७३/७४ मा नमुनाका रूपमा चितवन कास्कीमा उक्त खोप कार्यक्रम सञ्चालन गरेको थियो । यसैगरी गत आवमा ‘बाइभ्यालेन्ट एचभिपी सेकोलिन’ खोपको २० हजार मात्रा खरिद गरी नमुनाका रूपमा सातै प्रदेशका एक-एक अस्पतालबाट १४ वर्षका किशोरीलाई ६ महिनाको फरकमा दुई मात्रा खोप प्रदान गरिएको थियो । उक्त खोप अस्पतालमा आधारित खोप केन्द्रबाट प्रदान गरिएको थियो । ‘ह्युमन प्यापिलोमा’ भाइरसबाट संक्रमित व्यक्तिको यौनांगको छाला, ‘म्युकस मेम्ब्रेन’ यौनांगबाट निस्कने तरल पदार्थसँगको सम्पर्कबाट यो रोग सर्ने चिकित्सकहरू बताउँछन् । 

मानव शरीरमा क्यान्सर गराउने उच्च जोखिम भएका ‘एचपिभी’ भाइरसको पटकपटक संक्रमण भएर २० वर्षसम्म रहेमा पाठेघरको मुखको क्यान्सर हुने गरेको उनीहरूको भनाइ छ । नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र यसबाट बर्सेनि एक हजार ३१३ जना अर्थात् औसतमा प्रत्येक दिन चारजना महिलाको मृत्यु हुने अनुमान गरिएको छ ।
 

सुझावित समाचार