भारतीय सहयोगमा निर्मित भवन बागलुङको भीमगिठे माविलाई हस्तान्तरण

मंगलबार, २३ पुष, २०८१
डिजिटल संस्करण

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको बागलुङस्थित भीमगिठे माध्यमिक विद्यालयको भवन मंगलबार हस्तान्तरण भएको छ ।  जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमरबहादुर थापा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाशकुमार सिंहले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरेका हुन् । 

मंगलबार विद्यालयमा आयोजित कार्यक्रमा जिल्लास्थित रानीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरू सहभागी थिए । भारतीय राजदूतावासका अनुसार ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा विद्यालय भवन निर्माण भएको हो।  भवन निर्माण परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको  र जिल्ला समन्वय समिति, बागलुङमार्फत कार्यान्वयन गरिएको दूतावासले जनाएको छ । 

जिल्ला समन्वय समिति, बागलुङका प्रमुख, बडिगाड गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालय भवन निर्माणका लागि भारतीय सहयोग भएकोमा सराहना गरेका थिए । 

प्राथमिक विद्यालयका रूपमा भीमगिठे माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भई सन् १९६८ मा निम्न माध्यमिक विद्यालयमा स्तरोन्नति भएको हो । सन् १९८८ मा यो विद्यालय माध्यमिक तहमा स्तरोन्नति भएको थियो । विद्यालयले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा करिब ७०० विद्यार्थी अध्ययनरत छन् जसमा ५४५ जना छात्रा छन् । 

सुझावित समाचार