रास्वपा केन्द्रीय समितिको दुईदिने बैठक सकियो, यस्ता छन् निर्याणहरू

आइतबार, २१ पुष, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

दुई दिनको केन्द्रीय समिति बैठकपछि आज जारी विज्ञप्तिमा उक्त अभियानमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग, जिल्ला÷निर्वाचन क्षेत्र समिति समेतको सहभागिता रहने र अभियानले सदस्यता विस्तारका साथै पालिका तथा वडा समिति निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिलाई सहजीकरण गर्ने निर्णय पनि रास्वपाले गरेको छ । अभियान आगामी २ माघदेखि सुरु भई दुई महिनासम्म सञ्चालन हुनेछ । 

बैठकले पार्टीको राजनीतिक प्रशिक्षण पाठ्यक्रम केन्द्रीय सदस्यको सुझावसहित पारित गरेको छ । राजनीतिक प्रशिक्षण केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका तहसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । संविधानमा आवश्यक परिमार्जनका लागि प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल, २०८१’ गठन गरिएको छ । कार्यदलले संविधान परिमार्जनका लागि सुझाव सङ्कलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् एवं सरोकारवालासँग आवश्यक परामर्श गरी दलका तर्फबाट धारणा सार्वजनिक गर्नेछ । 

कार्यदलमा केन्द्रीय सदस्यहरु क्रान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, गणेश पराजुली, असिम शाह, कुसुम महर्जन र मेघ आले रहेका छन् । कार्यदलले प्रदेश तहमा गर्ने छलफलको संयोजन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभापतिलाई तोकेको छ ।
  
बैठकले १८ पुसमा दिवङ्गत भएकी नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक विषयमा जानकारी गराएका थिए । उनले पार्टीका संस्थापक सभापति रवि लामिछानेका सम्बन्धमा चलिरहेको अदालती प्रक्रियासम्बन्धी पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए ।  

हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षामा पार्टीका प्रदेश महामन्त्री, केन्द्रीय सङ्गठन विभाग तथा केन्द्रीय प्रशिक्षण विभागका सदस्यको सहभागितामा उपनिर्वाचनमा पार्टीका अनुभव, सिकाइ र चुनौती समेटिएका समीक्षा प्रतिवेदन पनि पारित गरेको छ । ११, १२ र १३ मंसिर ०८० मा जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट पारित पार्टीको राजनीतिक प्रस्तावनाका सम्बन्धमा उपसभापति वाग्लेद्वारा प्रस्तुत व्याख्यात्मक दस्तावेज पार्टीको राजनीतिक प्रशिक्षणमा प्रयोग गर्न पारित गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

पार्टीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पार्टी महामन्त्रीको संयोजकत्वमा सहमहामन्त्री पदेन रहने गरी केन्द्रीय सदस्य, केन्द्रीय सल्लाकार र केन्द्रीय विभाग सदस्य सम्मिलित केन्द्रीय कार्यसम्पादन एकाइ गठन गर्ने निर्णय गरिएको उनले सुनाए । विभिन्न सन्दर्भ र प्रयोजनका लागि बनाइएका चार समिति तथा कार्यदलको प्रयोजन पुरा भएकाले विघटन गरिएको पनि रास्वपाले जनाएको छ । पार्टीले सङ्घीय सदनबाहिर रहेका राजनीतिक दल÷शक्तिका जनपक्षीय र राष्ट्रहितका आवाजलाई सदनमा प्रतिनिधित्व गर्नेगरी आवश्यक कार्य अगाडि बढाउने निर्णय गरेको छ ।

विभिन्न विषयमा राजनीतिक, बौद्धिक परामर्शका लागि पार्टी केन्द्रीय तहमा सल्लाहकार परिषद्÷थिङ्कट्याङ्क सदस्यहरू मनोनीत गर्दै जाने निर्णय पनि गरिएको कार्यवाहक प्रवक्ता झाले बताएका छन् । 

सुझावित समाचार