ब्लकबस्टर नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलले नयाँ चलचित्र ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका छन्। पौडेल आफैँले निर्देशन गर्ने चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन्।
थिम पोस्टरमा घुर्मैलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएकी देखिन्छिन्। डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ। परपरसम्म क्षितिज छ।
निर्माण पक्षका अनुसार चलचित्र २०८२ मा रिलिज हुनेछ। नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन्।
बाबु श्रेष्ठको डिओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन्। चलचित्रमा संगीत रिदम कँडेल र आशिष अविरलको रहनेछ।
कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् । चलचित्रको मुख्य भूमिकामा कोको रहने भन्ने निर्माण टिमले जानकारी दिएको छैन।
सरोज पौडेलले निर्देशन गरेको ‘पूर्णबहादुरको सारंगी’ले नेपाली चलचित्र उद्योगमा सबैभन्दा धेरै कमाउने चलचित्रको रेकर्ड राखिसकेको छ। करिब ५० करोड रुपैयाँ नेपाली बक्सअफिसबाट मात्रै कलेक्सन गरेको छ।