सन् २०२४ : शेख हसिना र बसर अल असदको पतनदेखि डोनाल्ड ट्रम्पको पुनरागमनसम्म

बुधबार, १७ पुष, २०८१
डिजिटल संस्करण

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु भएको छ । यसअघिका वर्षमा जस्तै बितेको वर्ष पनि केही महत्वपूर्ण घटनाक्रम विकसित भए, जुन इतिहासमा स्मरणमा रहनेछन् । विश्वका केही देशमा राजनीतिक संकटदेखि केही शासकको पुनरागमन भयो भने युक्रेन युद्ध वर्षभरि नै चर्चामा रह्यो । विश्वलाई नै समस्यामा पारेको जलवायु परिवर्तनको मुद्दाले पनि विकासोन्मुख र विकसित देशहरूको ध्यानाकर्षण गर्‍यो । सुडानको गृहयुद्ध सन् २०२४ मा निरन्तर जारी रह्यो । सबैभन्दा महत्वपूर्ण घटनामा वर्षको उत्तरार्द्धमा सिरियाली शासक बसर अल असद सत्ताबाट लखेटिए भने अमेरिकामा ट्रम्पको ‘कमब्याक’ भयो । त्यस्तै वर्षको उत्तरार्द्धमा भएको विद्यार्थी आन्दोलनले बंगलादेशमा लामो समयदेखि शासन गर्दै आएकी सेख हसिना बाजेदलाई सत्ताच्युत गरायो ।  सन् २०२४ का केही अविस्मरणीय विश्वघटनाबारे सुभाष शर्माले तयार पारेको रिपोर्ट :

बसर अल असदको पतन
सन् २००० को जुलाईदेखि एकछत्र सिरियामा शासन गरिरहेका राष्ट्रपति बसर अल असदले अन्ततः सन् २०२४ को अत्यतिर विद्रोहीसामु घुँडा टेक्नुपर्‍यो । सिरियामा इस्लामावादी विद्रोही समूह हयात ताहरिर अल साम (एचटिएस)ले नोभेम्बर २७ देखि सुरु गरेको सरकारी सेनाविरुद्ध गरेको हमलापछि असद देश छाडेर भाग्न बाध्य भए । उनले हाल मस्कोमा शरण लिइरहेका छन् । दमास्कसको पतनको एउटा प्रतीकात्मक क्षण कुख्यात सेदनया जेलबाट सयौँ कैदीको रिहाइ थियो । राजधानीको उत्तरमा रहेको उक्त जेल असद वंशको ५० वर्षको शासनअन्तर्गत यातना र मृत्युदण्डको प्रतीक थियो । असदको शासनविरुद्ध सन् २०११ मा विद्रोह सुरु भएको थियो । सुरुमा शान्तिपूर्ण आन्दोलन पछि गृहयुद्धमा परिणत भयो । गृहयुद्धमा पाँच लाखको मृत्यु भयो भने एक करोडभन्दा बढी विस्थापित भए । असदको बहिर्गमनपछि इजरायलले सिरियाका विभिन्न स्थानमा हमला गरेको छ ।

दक्षिण कोरियामा मार्सल ल घोषणा
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले ‘उत्तर कोरियाली कम्युनिस्ट शक्तिहरूको खतरा’लाई उद्धृत गर्दै एक अचम्मको कदमको रूपमा डिसेम्बर ३ मा ‘मार्सल ल’को घोषणा गरे । तर, सांसदहरूको कडा विरोधपछि उनको त्यो निर्मम कदम ६ घण्टाभन्दा बढी टिक्न सकेन । डिसेम्बर १४ मा संसद्ले युनलाई महाभियोग लगाउन मतदान गर्‍यो । युनको कदमले विश्वमा नै एक प्रकारको तरंग उत्पन्न गरेको थियो । राष्ट्रपतिको बर्खास्ती र गिरफ्तारीको माग गर्दै राजधानी सियोलको सडकमा हजारौँ नागरिक उत्रिए । युनको आश्चर्यजनक घोषणा र त्यसपछिको राजनीतिक संकटले देशको अर्थतन्त्र धरायशी हुन सक्ने आशंका बढेको छ । हाल उनीमाथिको महाभियोगलाई अन्तिम टुंगो लगाउने प्रक्रिया त्यहाँको संवैधानिक अदालतले गरिरहेको छ ।

अन्तहीन रुस–युक्रेन द्वन्द्व
रुस–युक्रेन युद्ध यो वर्षभरि नै चर्चाको विषय बन्यो, यद्यपि सन् २०२२ को फेब्रुअरी २४ देखि नै युद्ध सुरु भएको थियो । सन् २०२४ मा पनि अमेरिकाले युक्रेनलाई दिँदै आएको सहयोगमा कुनै कमी आएन । रुसले युक्रेनका रणनीतिक महत्वका सहरमा हवाई तथा स्थल आक्रमण गर्दा युक्रेनले त्यसको डटेर प्रतिकार गरिरह्यो । अमेरिकामा डोनाल्ड ट्रम्पको ‘कमब्याक’सँगै युक्रेन युद्ध समाप्त हुने आकलन हुन थालेको छ । विशेषगरी, जो बाइडेनले युक्रेनलाई भारी हतियार आपूर्ति गरेको भन्दै उनको आलोचना हुँदै आएको छ । अमेरिका र बेलायतको स्वीकृतिपछि नोभेम्बरमा युक्रेनले पहिलोपटक रुसी भूभागमा पश्चिमबाट आपूर्ति गरिएको लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्‍यो । त्यसको जवाफमा रुसले हाइपरसोनिक मिसाइल प्रत्याक्रमण गर्‍यो ।

ट्रम्पले निर्वाचन अभियानमा आफू राष्ट्रपतिमा विजयी भएमा २४ घण्टामा युद्ध समाप्त पारिदिने दाबी गरेका थिए । अब उनको अग्निपरीक्षा सुरु भएको छ । वर्षको अन्त्यतिर ट्रम्पले युद्ध अन्त्यका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपतिसँग अनौपचारिक छलफल गरे । युद्धले ठुलो मानवीय क्षति भएकाले यसको अन्त्यका लागि दुवै पक्ष तयार रहेको र यस वर्ष ट्रम्पले निर्णायक पहल थाल्न सक्ने कही विश्लेषकले आकलन गरेका छन् ।

अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमन
डोनाल्ड ट्रम्पले एकपटक फेरि विश्वलाई चकित पारिदिए । अमेरिकी राष्ट्रपति चुनावमा जितबाट धेरै टाढा छन् भन्ने निर्वाचनअघिका प्रक्षेपणलाई गलत साबित गर्दै नोभेम्बरमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भए । चुनावी अभियानबाट पछि हटेका राष्ट्रपति जो बाइडेनको स्थानमा उम्मेदवारी दिएकी डेमोक्रेट उम्मेदवार कमला ह्यारिसलाई उनले सजिलै पराजित गरे । चार अभियोग र आपराधिक सजायको सामना गर्ने ७८ वर्षीय ट्रम्पमाथि निर्वाचनको पूर्वसन्ध्यामा दुई असफल हत्या प्रयास भए । ट्रम्पमाथि यौन दुव्र्यवहारदेखि अशोभनीय अभिव्यक्ति सार्वजनिक गरेको आरोप लाग्यो । महिलाबारे अश्लील टिप्पणी गरेको भिडियो सार्वजनिक भयो । प्रत्यक्ष बहसमा उनको प्रस्तुतिलाई लिएर आलोचना भयो । तर, त्यसले उनलाई विजयी हुनबाट रोकेन । उनको कमब्याकले विश्व अर्थतन्त्रलाई धक्का दिने अनुमान गरिएको छ । ट्रम्पको फिर्ती विगतको निरन्तरता हुने र निषेधात्मक शुल्कले अमेरिकी अर्थतन्त्रलाई कमजोर पार्ने कतिपयको भनाइ छ ।

बंगलादेशमा ढल्यो हसिनाको सत्ता
बंगलादेशको सरकारविरुद्ध विद्यार्थी नेतृत्वको आन्दोलन अगस्टमा उत्कर्षमा पुग्यो, परिणामस्वरूप प्रधानमन्त्री सेख हसिना सत्ताच्युत भइन् । थेग्नै नसक्ने आन्दोलन राष्ट्रव्यापी आन्दोलनपछि हसिना राजीनामा दिएर देश छोड्न बाध्य भइन् । राजधानी ढाकस्थित उनको सरकारी निवासमा हजारौँ प्रदर्शनकारीले आक्रमण गरेपछि ७६ वर्षीया वृद्ध राजनीतिज्ञ हेलिकोप्टरमार्फत भारत भागिन् । प्रदर्शनकारीले उनका पिता तथा देशका संस्थापक नेता सेख मुजिबुर रहमानको मूर्ति तोडफोड गरे । हसिनाले समग्रमा २० वर्षभन्दा बढी शासन गरिन् । पछिल्ला वर्षमा निरंकुश बन्दै गएको र विरोधीमाथि दमन गरेको हसिनामाथि आरोप लागेको थियो । उनले जनवरीको चुनावमा प्रधानमन्त्रीको रूपमा चौथो कार्यकाल जितेकी थिइन्, जसलाई आलोचकले फर्जी भन्दै निन्दा गरे । हसिनाको बहिर्गमनपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व गरेका छन् ।

जलवायु विपत्तिको रौद्र रूप
विश्वव्यापी रूपमा मौसम तातो हुँदै गइरहेको छ । दशकौँदेखि जीवाश्म इन्धनप्रति हाम्रो निर्भरताले जलवायु परिवर्तनमा नकरात्मक असर गरेको छ । वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढ्दै गएको छ । सन् २०२४ विश्वमा सबैभन्दा तातो वर्षको रूपमा दर्ज भयो । पहिलोपटक औसत विश्वव्यापी तापमान पूर्वऔद्योगिक समयको तुलनामा १.५ डिग्री सेल्सियस बढी मापन भयो ।

मौसमजन्य विपत्तिले विश्वभर ठूलो जनधनको क्षति गरायो । यसको मारमा अमेरिकादेखि नेपालसम्म परे । सन् २०२४ को पहिलो १० महिनामा अमेरिकामा मौसमसम्बन्धी २४ वटा प्राकृतिक प्रकोपले कम्तीमा एक अर्ब डलरबराबरको क्षति भयो । अर्कोतर्फ कीर्तिमानी खडेरीले दक्षिण अमेरिकालाई चौपट पार्‍यो भने विश्वको सबैभन्दा ठुलो नदी प्रणाली अमेजनका केही भाग सुक्यो । आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम)का अनुसार जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरू, जस्तै– आँधी, बाढी, खडेरी र डढेलोले गत वर्ष झन्डै दुई करोड मानिस घरबारविहीन भए । 

एआईमा अभूतपूर्व फड्को
सन् २०२४ ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अनौठो ढंगले विकास भइरहेको देखायो । एआई क्रान्तिले विज्ञानलाई तथ्यमा परिणत गर्दै छ । आनुवंशिक अवस्थाको विश्लेषण गर्न, स्वास्थ्य सेवा सुधार गर्न, उत्पादन क्षमता सिर्जना गर्न एआई प्रयोग भइरहेको छ । नोबेल पुरस्कार समितिले एआईको महत्वलाई त्यतिवेला मान्यता दियो, जब समितिले भौतिकशास्त्रको नोबेल पुरस्कार जोन हपफिल्ड र जियोफ्रे हिन्टनलाई ‘आविष्कार र कृत्रिम सञ्जालहरूको साथ मेसिन शिक्षालाई सक्षम पार्ने आधारभूत तरिकालाई’ प्रदान गर्‍यो । एआईमा संयुक्त राज्य अमेरिकाले ‘फराकिलो अन्तरले नेतृत्व गर्छ । तथापि, चीन एआई अनुसन्धान प्रकाशनहरूको कच्चा संख्यामा विश्वव्यापी नेता हो ।

भयावह बन्दै सुडान गृहयुद्ध
सन् २०२३ अप्रिलमा सुडानमा सुरु भएको गृहयुद्ध सन् २०२४ मा जारी रह्यो । जनरल अब्देल फताह अल बुरहानको नेतृत्वको सुडानी सशस्त्र बल (एसएएफ)लाई मोहम्मद हमदान ‘हेमेदी’ दागालोको नेतृत्वमा रहेको र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)का लडाकुले चुनौती दिँदै आएका छन् । यी दुईले सन् २०२१ को अक्टोबरमा संयुक्त रूपमा सत्ताकब्जा गरेका थिए । दुई दशकअघि डार्फर नरसंहारका लागि जिम्मेवार आरएसएफले सुडानको राजधानी खार्तुम र डार्फरको धेरैजसो क्षेत्र कब्जा गर्‍यो । सेप्टेम्बरको अन्त्यमा एसएएफले खार्तुमलाई पुनः प्राप्त गर्न ठुलो आक्रमण सुरु गर्‍यो । द्वन्द्वका कारण सुडानका ८० लाखभन्दा बढी मानिसले अहिले खाद्यअभावको सामना गरिरहेका छन्, जसका कारण तीव्र कुपोषण र मृत्युको जोखिम निम्तिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

द्वन्द्वले देशका पाँच करोड जनसंख्यामध्ये करिब एक करोड १० लाखलाई विस्थापित गरेको छ भने कम्तीमा २० हजारको ज्यान लिएको छ । सुडानमा हरेक दिन त्रासदीपूर्ण समय हो । यहाँ अनिकालको जोखिम बढेको छ । राष्ट्र संघको भोकमरी अनुगमनको एक रिपोर्टअनुसार पछिल्लो ६ महिनामा खाद्य सुरक्षाको अवस्था तीव्र रूपमा बिग्रिएकाले युद्धग्रस्त उत्तरपूर्वी अफ्रिकी राष्ट्रलाई विनाशको मार्गमा डोर्‍याएको छ ।

–एजेन्सीहरूको सहयोगमा 

सुझावित समाचार