नीतिगत भ्रष्टाचार गरी नौ करोड २२ लाख रुपैयाँको घुस लिएको आरोपमा काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बिशेष अदालतमा उनीसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको हो।
घरजग्गा व्यवसायी राजु कँडेलका कम्पनीहरू पद्मा कोलनी, पद्मा मर्चेन्ट कम्पनी तथा जगतगुरु कृपालु प्रतिष्ठानलाई कानुनविपरीत नगरपालिकाबाट विभिन्न नीतिगत निर्णय गरेर सघाएर त्यसबापत लाभ लिएको अख्तियारको दाबी छ। उनले नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँबराबरको लाभ लिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
यसरी आर्जन गरेको सम्पत्ति लुकाउने उद्देश्यले श्रीमती उर्मिला बस्नेतको नाममा घरजग्गामा लगानीदेखि विभिन्न व्यक्तिलाई भुक्तानी दिएको भन्दै १३ लाख १२ हजार ७३ हजार ३२ रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर गरेको छ।
अख्तियारले व्यवसायी कँडेलविरुद्ध पनि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोग लगाएको छ। त्यस्तै, मेयर बस्नेतकी श्रीमती उर्मिलाविरुद्ध सम्पत्ति जफतको प्रयोजनका लागि आयोगले प्रतिवादी बनाएको छ।