हिमालयन क्यापिटलले पुँजी बजार तथा लगानी व्यवस्थापन साक्षरतासम्बन्धी कार्यक्रम गरेको छ । कम्पनीले २३ देखि २८ मंसिरसम्म कर्णाली प्रदेशका भैरवी गाउँपालिका दैलेख, कुमाख गाउँपालिका सल्यान र भेरीगंगा नगरपालिका सुर्खेतका विभिन्न विद्यालयका विद्यार्थीलाई पुँजी बजार तथा लगानी व्यवस्थापन साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीका प्रमुख, अनुपालन विभागका निमेषप्रसाद अधिकारीबाट उक्त कार्यक्रममा सहभागी विद्यार्थीलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधन, पुँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया आदिबारे जानकारी दिइएको थियो । साथै, धितोपत्रको दोस्रो बजारको प्रकृति र सामूहिक लगानी कोषसम्बन्धी जानकारी प्रदान गर्दै छलफल गरिएको थियो ।
साथै, पुँजी बजारको निरन्तर विकासका निम्ति भावी पुस्तालाई पुँजी बजार र यसको प्रकृतिको सम्बन्धमा जानकार बनाउन सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमका सहभागी विद्यार्थीले यस वित्तीय प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताए । हिमालयन क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।