नौ रुपैयाँको नुन किन्न २५ सय खर्च

शुक्रबार, १२ पुष, २०८१
डिजिटल संस्करण

सर्केगाड गाउँपालिका– १ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु. नौको नुनलाई उनीहरूले रु. दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् । 

नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महँगाे गाडी भाडा तिरेर उनीहरू नुन किन्न जानुपरेको छ । नुन लिन जाँदा र घर फर्कन मात्रै उक्त रकम खर्च हुने गरेको स्थानीय रामशरण रावतले बताए।  केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने नुन खरिद गर्न सर्केगाडस्थित डिपोमा ठुलो खर्च भएको  बताए । उनले भने, ‘गाउँभन्दा पालिका केन्द्र टाढा छ । अनुदानमा रु. नौ पर्ने नुन लिन जान रु. दुई हजार पाँच सयसम्म खर्च लाग्छ ।’ 

एक दिनको पैदलयात्रामा पुगिने ठाउँमा गाडीमा आवतजावत गर्दा रु. दुई हजार पाँच सय लाग्ने गरेको रतन रावतले बताए । साल्ट ट्रेडिङको सर्केगाड बजारमा रहेकाले डिपो केन्द्रमार्फत मात्र बिक्री गर्दा तुम्चका ९५ घरधुरीलाई समस्या हुने गरेको रावतको भनाइ छ । 

गाउँपालिका केन्द्र टाढा रहेकाले गाउँपालिकाबाट पाउने अन्य सेवा–सुविधाबाट समेत वञ्चित भई वडा कार्यालय जानसमेत तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको रावतले सुनाए । वडा कार्यालय जैरमा भएकाले तीन घण्टाको उकालो हिँडेर विभिन्न सिफारिस लिनुपर्ने अवस्था छ । 

तुम्च गाउँका नागरिकले नुन सर्केगाड नपुर्याई बालुकुना क्षेत्रबाट वितरण गर्दा आफूहरूलाई सहज र खर्च पनि बच्ने उनीहरूको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा हुम्लाका प्रमुख राजबहादुर लामाले भने दक्षिण भेगका चारवटा गाउँपालिकाका लागि सहज पहुँच पुग्ने गरी बिक्री केन्द्रबाट वितरण हुँदै आएको बताए। 

एक–दुईपटक यहाँका नागरिकको समस्यालाई हेरी तुम्चका लागि बालुकुनामै वितरण भएको उनको भनाइ छ । अहिले चंखेली र सर्केगाडका लागि सर्केगाड बिक्री केन्द्र र अदानचुली र ताँजाकोटका लागि अदानचुलीको श्रीनगरसम्म पुर्याउने सम्झौता भएको लामाले बताए। 

ती चारवटा गाउँपालिकाका लागि चालू आर्थिक वर्षमा एक हजार आठ सय क्विन्टल नुन पुर्याइनेछ । सर्केगाडका लागि पाँच सय, चंखेली चार सय, अदानचुली पाँच सय, ताँजाकोट गाउँपालिकाका लागि चार सय क्विन्टल नुन ढुवानी हुने भएको छ । अहिले दक्षिण भेगमा नुन ढुवानी भइरहेको बताइएको छ । 

See More On

सुझावित समाचार