रामेछापको उमाकुण्ड गाउँपालिका– २ बाम्ती भण्डारमा निर्माण व्यवसायीको रकम भुक्तानी नहुँदा बाम्ती अस्पतालको भवन निर्माण कार्य तीन वर्षदेखि अलपत्र परेको छ।
देशभरका सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने संघीय सरकारको योजनाअनुसार अस्पताल निर्माणको काम थालनी गरिएको थियो। दश शय्याको अस्पताल भवन निर्माणको काम थालेको तीन वर्ष पूरा हुन लाग्दासमेत अझै अस्पतालको काम सम्पन्न हुन सकेको छैन। दुई वर्षभित्र निर्माण सक्ने गरी गौरा बंगलामुखी उमाकुण्ड जेभीले ४८ कोठे भवनको भ्याटबाहेक सात करोड ५३ लाखमा ठेक्का सम्झौता गरी निर्माणको जिम्मेवारी लिएको थियो।
दुई वर्षभित्र भवनको सम्पूर्ण काम सकेर सम्बन्धित पालिकालाई भवन हस्तान्तरण गर्नुपर्नेमा अझै निर्माणको काम धेरै बाँकी रहेको छ। निर्माण व्यवसायीले गत असारमा नै भवनको काम सकेर जिम्मा लगाउनुपर्नेमा पटकपटक म्याद थप गर्दै पुनः पुस मसान्तसम्म म्याद थप गरेको छ। सरकारले दिनुपर्ने रकम दिन नसक्दा समयमा काम सम्पन्न हुन नसकेको निर्माण व्यवसायी विजय सुनुवार बताउँछन्।
बाम्ती अस्पताललाई गाउँपालिकास्तरको अस्पतालमा स्तरोन्नति गर्ने गरी भवन निर्माणको काम अघि बढाएको भए पनि भवन निर्माणमा ढिलाइ हुँदा हाल नागरिकलाई स्वास्थ्यचौकीकै भवनबाट सेवा दिँदै आइएको छ। सरकारले अस्पताल भवन निर्माणको लागि टेन्डर आह्वान गरेर सम्झौता गरे पनि निर्माण व्यवसायीलाई सम्झौताअनुसार किस्ताकिस्तामा दिनुपर्ने रकम दिन नसक्दा भवन निर्माणमा ढिलाइ भएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए।
उनले भने, ‘अस्पताल भवन निर्माणको काम सुरु भएको तीन वर्ष हुन लाग्यो, अझै पूर्ण रूपमा काम सकिएको छैन।’ अस्पताल भवन चाँडै पूरा गर्न आफूले पटकपटक मन्त्रालयसम्म पुगेर जानकारी गराएको र पटकपटक पत्राचार गर्दासमेत मन्त्रालयले आवश्यक बजेट नपठाउँदा अस्पताल भवन निर्माणमा ढिलाइ भएको उनको भनाइ छ।
निर्माणाधीन भवन भूकम्प प्रतिरोधी र अपांगतामैत्री हुनुका साथै भवनमा आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षलगायतको व्यवस्था गरिने गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक अभिजित सुनुवारले जानकारी दिए।