रास्वपा सभापति रवि लामिछानेले आफूलाई दुई महिना हिरासतमा राखेर गरिएको प्रहरी अनुसन्धानबाट के प्रमाण भेटियो भन्दै अदालतमा प्रश्न गरेका छन् । म्याद थपका लागि मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएका लामिछाने र न्यायाधीशबिच रोचक सवाल–जवाफ भए ।
न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा रविले भने, ‘म यत्तिका दिन त हिरासतमा बसिसकेँ, अनुसन्धानलाई सघाइसकेँ, यसलाई नथुनेको भए यो प्रमाण नष्ट हुन्थ्यो, योचाहिँ कागज पाइँदैन थियो, पक्राउ गरेर जोखिमबाट बच्यो भन्ने कुराचाहिँ के छ?’ आफूलाई समातेर प्रहरीले के प्रमाण जोगायो र अनुसन्धानमा फेला परेको प्रमाण देखाइदिन उनले आग्रह पनि गरे ।
त्यसपछि न्यायाधीश बेल्बासेले रविलाई ‘तपाईंको यो अनुभव पछि काम लाग्छ’ मात्र भनेका थिए । रविले इजलाससमक्ष दोस्रो प्रश्न गरेका थिए । बैंक खाता र कारोबारबारे मिडियाबाट अफवाह फैल्याइएको बताउँदै रविले भने, ‘अनुसन्धानबाट खुलेको भन्दै कुनै मिडियाले यति करोड भनेको छ, कुनैले उति करोड, हाम्राविरुद्ध अति नै मिडिया ट्रायल भयो, यसका कारण मेरी श्रीमती (निकिता) पनि निकै दबाबमा परेकी छिन्, गलत समाचारविरुद्ध कतिपटक प्रेस काउन्सिल जाऊँ, कतिलाई मुद्दा हालौँ, यो त अचाक्ली नै भइसक्यो श्रीमान्, श्रीमान्ले आजको आदेशमा यसबारे केही उल्लेख गरिदिनुप¥यो ।’
त्यसपछि न्यायाधीश बेल्बासेले ‘हेरौँला नि त’ भने । त्यसपछि इजलासले रविसहितलाई हिरासतमा राख्न थप चार दिनको अनुमति दिएको थियो ।
म्याद थपका लागि बहस हुनुअघि २७ मंसिरमा उच्च रक्तचाप हुँदा पनि रवि अस्पताल भर्ना नभएकोबारे चर्चा भएको थियो । न्यायाधीश बेल्बासेले लामिछानेलाई अस्पताल भर्ना हुनुभएन छ नि भन्ने प्रश्न गरेका थिए । ‘दम्भले होइन, कसैलाई देखाइदिऊँ भनेर पनि होइन श्रीमान्, आत्मविश्वासका कारण अस्पताल भर्ना नभएको हुँ, आत्मबलले नै भर्ना हुनुपर्छ भनेको भए, हुन्थेँ पनि, गाह्रो भएको भए नजिकै थियो, गइहाल्थेँ,’ उनले भने, ‘श्रीमान् म गृहमन्त्री हुँदा हिरासत छल्न अस्पताल बस्ने प्रवृत्ति निरुत्साहित गर्न कार्यविधि बनाएको थिएँ, त्यही कार्यविधिका कारण पनि अस्पताल भर्ना हुन असजिलो भएको थियो ।’
थप चार दिन हिरासतमा राख्न अनुमति
रास्वपा सभापति रवि लामिछानेसहित पाँचजनालाई थप चार दिन हिरासतमा राख्न म्याद थप भएको छ । २ कात्तिकमा पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछाने र अन्य चारजनालाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । लामिछानेलाई हिरासतमा राख्नका लागि म्याद थप भएको यो आठौँ र अन्तिमपटक हो ।
अदालतले लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी, गुल्मीका लीला पछाई, नेचर हब्र्स इन्टरनेसनल प्रालि, गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं सेयरधनी रामबहादुर खनाल र पोखराका कृष्णबहादुर गुरुङलाई म्याद थप गरेको हो । सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका उनीहरूलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलाउन प्रहरीले सोमबार मात्र जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरिसकेको छ ।