१०४ वर्ष पुरानो व्यापारिक घरानामा विरासतको विवाद : ज्योति ग्रुप विभाजन, पद्म ज्योतिको अलग्गै ग्रुप

सोमबार, १ पुष, २०८१
डिजिटल संस्करण

सन् १९२० मा मणिहर्ष ज्योतिले स्थापना गरेको ‘ज्योति ग्रुप’ औपचारिक रूपमा विभाजन भएको छ । करिब १०४ वर्ष लामो पारिवारिक विरासत बोकेको देशकै पुरानोमध्येको एक ज्योति ग्रुप दाजुभाइ (पद्म र रूप)बिच सम्पत्ति बाँडफाँट र कम्पनीको नेतृत्व विवादले फुटेको हो ।

लामो समयदेखिको सम्पत्ति विवाद उत्कर्षमा पुगेपछि उनीहरू विधिवत् रूपमा अलग–अलग भएका हुन् । आइतबार पद्म ज्योतिले अलग्गै ‘पद्म ज्योति ग्रुप’ घोषणा गरेका छन् । नयाँ समूहको लोगो पनि सार्वजनिक गरेका छन् । पद्म ज्योति अध्यक्ष रहेको ग्रुपमा संस्थापक सदस्य मीरा ज्योति (श्रीमती) र निर्देशकहरूमा सौरभ ज्योति (जेठा छोरा), सिर्जना ज्योति (जेठी बुहारी), सुहृद ज्योति (कान्छा छोरा) र आरती ज्योति (कान्छी बुहारी) रहेका छन् ।

यसअघि ज्योति समूहको अध्यक्ष पद्म ज्योति थिए भने उपाध्यक्ष डा. रूप ज्योति थिए । दाजुभाइबिच सम्पत्ति र कम्पनीको नेतृत्वको विवादमा ३३ प्रतिशत हिस्सेदार रहेकी बहिनी कमलाले रूप ज्योतिलाई साथ दिएपछि पद्म ज्योति अल्पमतमा परे । रूपले पद्मलाई विभिन्न कम्पनीहरूको अध्यक्षबाट हटाउँदै गएको आरोप छ । पद्म र रूपको परिवारिक किचलो प्रहरी, अदालतदेखि मिडियासम्म पुगेको थियो ।

तीन दशकअघि मणिहर्ष बितेपछि पद्मले ग्रुपको नेतृत्व गर्दै आएका थिए । तर, पछिल्लो समयको विवाद उत्कर्षमा पुगेपछि पद्मले छुट्टै ग्रुप खडा गरे । आइतबार नयाँ समूहको घोषणा कार्यक्रममा पद्मले भने, ‘पद्म ज्योति ग्रुप उत्पत्ति गरेसँगै एउटा चर्चित विरासतको नयाँ अध्याय सुरुवात भएको छ, एक शताब्दीभन्दा लामो ज्योति ग्रुपको मार्गदर्शक सिद्धान्तको रूपमा जीवित रहेको आस्था, नवीनता र उत्कृष्टतालाई यथावत् राखी नयाँ बाटो कोरेका छौँ ।’

ज्योति ग्रुपका हिमाल आइरन एन्ड स्टिल, हिमाल वायर, हिमाल अक्सिजन, भाजुरत्न इन्जिनियरिङ, भाजुरत्न फर्मा, स्याकार कम्पनी, जय स्पिनिङलगायत कम्पनीमा पद्म, रूप र कमलाको समान ३३ प्रतिशत सेयर हिस्सा छ । बहिनी कमलाको साथ लिएर रूपले आफूलाई कम्पनीको नेतृत्वबाट हटाउँदै गएको पद्मको आरोप छ । यी कम्पनीमा आफूहरूको (फुपूको सहित) दुईतिहाइ र पद्म परिवारको एकतिहाइ हिस्सेदारी रहेको रुपका छोरा अभिक ज्योतिले बताए । 

‘केही समयदेखि ज्योति परिवार पारिवारिक कम्पनीहरूको पुनर्संंरचना र विभाजनको कठिन क्षणबाट गुज्रिरहेको धेरैलाई थाहा छ । पारिवारिक विवाद भनेको नेपाली समाजमा मात्र नभई संसारभरि हुने एक तथ्य हो,’ पद्मले भने, ‘हरेक सूर्यास्तपछि नयाँ सूर्योदय हुन्छ, ज्योति परिवार आशावादी छ कि यसले पनि चाँडोभन्दा चाँडो एउटा सर्वहितकारी निकास प्राप्त गर्ने नै छ । हाम्रो पद्म ज्योति परिवारमा पाँच वर्षअघि नै पारिवारिक विधान बनाएका छौँ । जसले हामीलाई उचित मार्गदर्शन दिन महत्वपूर्ण भूमिका खेलेको छ । हामी पद्म ज्योति परिवार एकबद्ध छौँ र एकढिक्का भई सबै निर्णय गर्छौँ । हामीले हाम्रो बाटो स्पष्ट छानेका छौँ ।’

पद्म ज्योति ग्रुपले स्याकार ट्रेडिङ कम्पनीमार्फत अटोमोटिभ बाहनहरू आपूर्ति, हिमाल मोटो कम्पनीबाट उद्योग सञ्चालन, स्याकार हायर पर्चेज कम्पनीमार्फत वित्तीय सेवा, सन् इन्टरनेसनल कम्पनीबाट खाद्यान्न क्षेत्र र ब्हाइट हैट कम्पनीहरूमार्फत सेवा र प्रविधि क्षेत्रमा प्रभावकारी प्रगति गर्ने पद्म ज्योतिले बताए । भाजुरत्न कंसाकार नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडबाट कर्जा लिने पहिलो ग्राहक रहेको उनको भनाइ छ । उनले भने, ‘हाम्रा संस्थापक भाजुरत्नले बैकिङ कर्जा भनेको व्यवसायीहरूका लागि आधुनिक युगमा एउटा स्रोत हुने देखाउनुभएको थियो ।’

सौरभ ज्योतिले शताब्दी पुरानो व्यावसायिक घराना ज्योति परिवारको पाँचौँ पुस्ता पनि व्यवसायमा जोडिने वेला आइसकेको बताए । ‘परिवार टुट्दा धेरै दुःख लागेको छ, तर यसबाट पाठ सिकेर हामी व्यवसाय विस्तार गर्दैै अगाडि बढ्नेछौँ,’ उनले भने, ‘हामी परिवारको मूल्य र मान्यतालाई आत्मसात गर्दै नयाँ गन्तव्यतर्फ उडान भर्नेछौँ । हामी महत्वपूर्ण परिवर्तनको मुडमा छौँ ।’ उनले हजुरबुवा मणिहर्षसँग लामो समय बिताउने मौका पाएको स्मरण गर्दै उहाँबाट धेरै कुरा सिक्ने मौका पाएको बताए । दुई परिवारबिच केही समस्याहरू रहेको स्वीकार गर्दै उनले अब नयाँ अध्याय सुरु गर्ने चरणमा रहेको बताए । 

‘विश्वकै चर्चित कोडाक हरायो, फ्याक्स मेसिन, टेलिग्राम, पेजर अहिले अस्तित्वमा छैनन्, यसैले समयअनुसार अगाडि बढ्न सक्नुपर्छ,’ सौरभले भने, ‘अब यी उदाहरणबाट पाठ सिकेर नयाँ ढंगबाट पद्म ज्योति ग्रुपलाई अगाडि बढाउनुपर्छ । उनले पद्म ज्योति समूह व्यवसाय विस्तारमा बिजुली गतिमा अगाडि बढ्ने बताए । उनले भने, ‘हाम्रो समूहले ट्रेडिङसँगै उत्पादनशील उद्योगमा पनि लगानी गरिरहेको छ, हामी देशमा अझ बढी रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्न चाहन्छौँ ।’

पद्म ज्योति ग्रुप घोषणा गर्दै अध्यक्ष पद्म ज्योतिले भने–हरेक सूर्यास्तपछि नयाँ सूर्योदय हुन्छ
केही समयदेखि ज्योति परिवार पारिवारिक कम्पनीहरूको पुनर्संरचना र विभाजनको कठिन क्षणबाट गुज्रिरहेको धेरैलाई थाहा नै छ । पारिवारिक विवाद भनेको नेपाली समाजमा मात्र नभई संसारभरि हुने एक तथ्य हो । हरेक सूर्यास्तपछि नयाँ सूर्योदय हुन्छ । जुनसुकै चुनौतीपूर्ण अनुभवले पनि सिकाइको एक न एक बहुमूल्य अवसर प्रदान गरेको हुन्छ । हामी पद्म ज्योति परिवार एकबद्ध छौँ र एकढिक्का भई सबै निर्णय गर्छौँ । हामीले हाम्रो बाटो स्पष्ट छानेका छौँ ।

ज्योति ग्रुपका अध्यक्ष रूप ज्योति भन्छन्– सबै नाफा हडप्ने सोच राखेर नयाँ समूह बनाएको हुन सक्छ 
मेरो बिहे हुनेबित्तिकै अंशबन्डा भएको हो । बुबा–आमा, दाजु र मेरो नाममा बराबर सम्पत्ति रह्यो । तर, कारोबार अलग–अलग गरेमा कमजोर भइन्छ भनेर सगोलमै कारोबार गर्ने भनियो । परिवारका सबै कम्पनीमा बुबा, दाइ र मेरो समान हिस्सा रहने भयो । सबै कारोबार त्यही हिसाबले चल्दै आइरहेको थियो । पछि बुबाको सम्पत्ति आमाको हुँदै अविवाहित बहिनीको नाममा आयो । दाइ निजी क्षेत्रको राजनीति र हिमाल पावरतिर व्यस्त हुनुभयो । सबै कम्पनी मेरै सक्रियतामा चलिरहेका थिए । 

नाफा हुने कम्पनीहरू दाइ र दाइका छोराहरूको नाममा थिए, पछि उनीहरूले आफ्नै भन्दै दाबी गर्न थाले । आम्दानी बाँडफाँट गर्न छाडियो । दायित्व बढी रहेका पुराना कम्पनी मेरोमा परेका थिए । उनीहरूले सम्पत्ति कब्जा गर्न थालेपछि बहिनी र मलाई पनि चिन्ता हुन थाल्यो । अनि बहिनी र मेरो नाममा रहेको ६६.६ प्रतिशत हिस्साको समर्थनसहित ज्योति ग्रुपको अध्यक्ष म बनेको हुँ । कम्पनीमा बहिनीले जसलाई समर्थन गर्छिन्, उनकै बहुमत हुने गर्छ ।

अहिले दाइको परिवारले नयाँ समूह घोषणा गरेको सुनियो । फेरि मेरो र बहिनीको स्वामित्व रहेका कम्पनीहरू पनि त्यहीँ राखिएको छ । ज्योति ग्रुपमा म अध्यक्ष छु, यी सबै ज्योति समूहका कम्पनी हुन् । आफ्नो हुन त शतप्रतिशत स्वामित्व हुनुपर्ला । होन्डा बिक्री गर्ने स्याकार कम्पनी दाइको परिवारको नाममा भए पनि नैतिक रूपमा ज्योति समूहको हो । म उनीहरूले हडपेको भन्छु । उनीहरूले छुट्टै गरेको भनेको आइसक्रिमको व्यापार मात्र हो । अरू केही छैन । यी सबै सगोलमा चलेका कम्पनी हुन् । नत्र ४५ वर्ष एक्लै हाँकेका कम्पनी सबै मेरा हुन भन्थेँ हुँला नि । 

मलाई लाग्छ, पद्म ज्योति ग्रुप घोषणा गर्नु भनेको ज्योति ग्रुपको दायित्वबाट पन्छिन खोजेको हुन सक्छ । राम्रा कम्पनी आफैँ राखेर सबै आम्दानी हडप्ने सोच हुन सक्छ । होन्डाको आम्दानी आफैँ राख्न खोजेको देखिन्छ । सगोलका बिजनेस सबै नयाँ ग्रुपमा राखिएको छ । सगोलका बिजनेस हडप्न खोजेपछि विवाद कहाँबाट सल्टिन्छ ? दाइ र दाइका छोराहरू मिलेर २२१ वटा मुद्दा हालेका छन् । ८५/९० प्रतिशत मुद्दा हारिसके । अर्को समूह घोषणा गरेर मात्र समाधान हुने होइन, समस्या यथावत् छ । हाम्रोमा आम्दानी गर्ने कम्पनी छैनन् । त्यो हिसाबले अलग्गिन खोजेका होलान् । यहाँ समस्या झन् बल्झिएको छ । 
 

सुझावित समाचार