तामाकोशी गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुक्रबारदेखि दोलखाको झुलेमा सुरु भएको छ।
तामाकोशी गाउँपालिकाको आयोजना तथा अमर मावि र जनप्रभात माविको व्यवस्थापनमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता झुलेस्थित खेलमैदानमा सुरु भएको हो। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले शुक्रबार प्रतियोगिताको उद्घाटन गरे।
आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका अमर मावि र जनप्रभात मावि झुलेसहित सीतापाइला मावि र कालापानी मावि जफे, गोल्मेश्वर मावि मालु, जनजागृति मावि र खिम्ती प्रोजेक्ट स्कुल सहरे, महेन्द्र मावि च्यामा, कालिका मावि हाँवा र नारायणी मावि भिरकोट सहभागी छन्।
उद्घाटन समारोहमा मन्त्री काफ्लेले तामाकोशी गाउँपालिकाको प्राकृतिक रूपले सुन्दर र उत्कृष्ट झुलेको खेलमैदानमा खेलकुद सञ्चालन गरेकोमा आफूलाई खुसी लागेको बताए। अबको शिक्षालाई एकीकृत विकास गर्दै २१औँ शताब्दी सुहाउँदो हुनुपर्ने भन्दै मन्त्री काफ्लेले युवा विद्यार्थीसँग जोडिन पाउँदा आफूलाई ऊर्जा मिलेको बताए।
तामाकोशी गाउँपालिका– २ का वडाध्यक्ष ईश्वर कार्कीको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी, उपाध्यक्ष सिर्जना सुवेदीलगायतले गाउँपालिकामा खेल क्षेत्रमा लगानी बढाउन प्रदेशमन्त्री काफ्लेको ध्यानाकर्षण गराएका थिए।