जिल्ला सरकारी वकिल कार्यालय पर्सामा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार करिब तीन घण्टा बयान दिएका छन । मंगलबार बिहान साढे १० बजेबाट सुरु भएको उनको बयान अपराह्न डेढ बजे मात्र सकिएको सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता माधव निरौलाले जानकारी दिए।
उनका अनुसार सरकारी वकिल कार्यालयमा बयान दिएपछि आवश्यक पर्ने कुराहरू आएको छ, आजको लागि उनको बयान सकिएकाले अब उनी पुनः बयानका लागि यहाँ नआउने अवस्था छ । बयान सकिएपछि उनी जिल्ला प्रहरीको हिरासत पुगेका छन् ।
उनी हिजो सोमबारदेखि पर्सा प्रहरीको हिरासतमा पुगेका छन् । गत १९ मंसिरमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बयानका पर्सा प्रहरीको हिरासतमा ल्याइएको हो । उनलाई कास्की प्रहरीको हिरासतबाट काठमाडौं हुँदै बाराको सिमरा विमानस्थल ल्याइएको थियो।
सिमराबाट स्थलमार्ग हुँदै पर्सा प्रहरीको हिरासतमा पुर्याइएको हो । लामिछाने पर्सामा आउनुपूर्व रास्वपाका नेता–कार्यकर्ताले प्रदर्शन गरिरहेका छन । वीरगन्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान गर्न लागेको हो ।
पर्सा प्रहरीका अनुसार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न बुधबार जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको हो । गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको हाल कास्कीमा पनि बयान भइरहेको छ । पर्सामा गितेन्द्रबाबु राई, छविलाल जोशीलगायतविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानका लागि पर्सा ल्याएको बताए । सानो पाइला सहकारीको रकम हिनामिनामा एक चरणमा अनुसन्धान गरी प्रहरीले गत वर्ष नै मुद्दा दायर गरिसकेको छ । संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान हुन लागेको हो ।
जिबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए ।
सोही आधारमा उनी अनुसन्धानमा तानिएका हुन् । सहकारीको रकम अपचलनमा संलग्न नभए पनि गोर्खा मिडियाको सञ्चालक भएकै आधारमा पक्राउ गरेर अनेक मुद्दा चलाउन लागिएको भन्दै रास्वपाले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ ।