बाराही जंगल लजकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

चितवनस्थित बाराही जंगल लजकी नेचर गाइड एलिना चौधरी प्रतिष्ठित  अन्तर्राष्ट्रिय अवार्ड ‘टिओएफ टाइगर्स लज नेचुरिलस्ट’बाट सम्मानित भएकी छिन् । परम्परागत रूपमा पुरुषहरूको प्रभुत्व रहेको जंगली जीवजन्तुको संरक्षण, दिगो पर्यटन र महिलाहरूको सशक्तीकरणमा पुर्याएको अद्वितीय योगदानको कदर गर्दै एलिनालाई अवार्ड प्रदान गरिएको हो । 

अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै एलिनाले यस वर्षको अवार्ड हात पारेकी हुन् । उनलाई गत शुक्रबार भारतको नयाँदिल्लीस्थित बिकानेर हाउसमा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो । उनी यो अवार्ड पाउने एक मात्र महिला हुन् ।
प्रकृतिप्रति असाधारण प्रेम र समर्पण भएकी एलिना पारिवारिक पृष्ठभूमिका कारण पनि संरक्षण क्षेत्रमा लागेकी हुन् । पर्यटन क्षेत्रमा क्रियाशील बुबा डिबी चौधरी र वन्यजन्तु संरक्षणमा क्रियाशील हजुरबुबाका कारण आफूलाई पनि यसै क्षेत्रमा लाग्ने प्रेरणा मिलेको एलिना बताउँछिन् ।

२०१९ मा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) बाट नेचर गाइडको प्रमाणपत्र प्राप्त गरेकी अलिना २०२१ देखि बाराही जंगल लजमा काम गर्न थालेकी हुन् । त्यसपछि उनी चितवन राष्ट्रिय निकुञ्जमा चराहरूको संरक्षण परियोजनामा आबद्ध भइन् ।
बाराही जंगल लजका महाप्रबन्धक प्रकाश चन्दले एलिनाको सफलतामा गर्व लागेको बताउँछन् । ‘एलिनाको सफलता संरक्षण क्षेत्रमा महिलाहरूको तागत र समर्पणको उदाहरण हो । उनको कडा मिहिनेत र जोसले वन्यजन्तु र पर्यटनको परिदृश्यलाई परिवर्तन गर्दै छ । उनी र उनीजस्ता अरूलाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।’ 

प्रतिष्ठित अवार्डमार्फत एलिना मात्र नभई समावेशिता र महिला सशक्तीकरणका क्षेत्रमा बाराही जंगल लजले अपनाएको कार्यशैली पनि सम्मानित भएको उनको भनाइ छ । आगामी दिनमा पनि बाराही जंगल लजले सशक्त र समावेशी वातावरण निर्माण गर्दै महिलालाई नेतृत्वका थप अवसर प्रदान गर्ने चन्दले बताए । 

चितवन राष्ट्रिय निकुञ्जस्थित राप्ती नदीको किनारमा अवस्थित बाराही जंगल लज पर्यावरणमैत्री गन्तव्य हो । यसले आरामदायी आतिथ्यसँगै प्रकृति संरक्षण र विविधताको प्रवर्द्धनको मूल उद्देश्यका साथ स्थापना गरिएको हो ।

सुझावित समाचार