क्यासिनोमा जुवा खेल्न जुवाडेहरूले नक्कली भारतीय आधार कार्ड बनाउने गरेको भेटिएको छ । यसरी क्यासिनोमा जुवा खेल्ने चितवन राप्ती नगरपालिका– १ घर भई हाल काठमाडौं रातोपुल बस्ने ३७ वर्षीय विशाल बर्तौलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
उपत्यकाका विभिन्न स्थानमा रहेका क्यासिनोहरूमा नेपाली नागरिकले नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाई प्रवेश गरी जुवा खेल्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं ठमेलस्थित छाया सेन्टरमा रहेको क्यासिनो वाल्डो डाइनेस्टीमा जुवा खेलिरहेको अवस्थामा बर्तौलालाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा उनले क्यासिनो प्रवेश गरी जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्डसमेत बनाएको खुल्न आएको छ ।
यसअघि पनि नक्कली भारतीय परिचयपत्रसहित प्रहरीले जुवाडेहरूलाई क्यासिनोबाट पक्राउ गरेको थियो। क्यासिनोमा नेपालीलाई जुवा खेल्न प्रतिबन्ध भएकाले नक्कली परिचयपत्रका आधारमा प्रवेश गर्ने गरेका छन्।