निजामती प्रशासनमा ट्रेड युनियनको आवश्यकता कति छ ?
पेसागत हिसाबमा निजामती प्रशासनमा ट्रेड युनियन आवश्यक छ भन्ने विषयमा कुनै द्विविधा छैन । लोकतान्त्रिक मुलुकमा ट्रेड युनियनको बढी नै महत्व हुन्छ । तर, यति भन्दै गर्दा पनि हामीकहाँको ट्रेड युनियन आन्दोलनचाहिँ ट्रेड युनियनको सामान्य अभ्यासभन्दा अलि फरक बाटो हिँडेजस्तो देखिन्छ । आफ्नो पेसागत लाभका लागि राजनीतिसित अलि बढी नै जोडिने लालसाले गर्दा हाम्रो ट्रेड युनियन आमअपेक्षाभन्दा फरक बाटोमा गएको हो कि जस्तो आभास हुने गरेको छ ।
निजामती प्रशासनमा दलगत ट्रेड युनियन कति जरुरी छ ?
ट्रेड युनियनका विज्ञ तथा यससम्बन्धी विशेष जानकार कानुनविद्हरू सामान्यतः ट्रेड युनियनको निर्वाचन भनेको विभिन्न ट्रेड युनियनबीचको प्रतिस्पर्धा हो भन्ने गर्नुहुन्छ । त्यसो हो भने एकभन्दा बढी ट्रेड युनियन समूह हुनु सामान्य नै हो । यस्तो अवस्थामा दलगत ट्रेड युनियन अस्तित्वमा आउन सक्छन् । तर, त्यस्तो अवस्थामा पनि निजामती प्रशासन र सरकारले आधिकारिक ट्रेड युनियनसित मात्र सम्बन्ध राख्ने र अन्यलाई ‘इन्टरटेन’ नै नगर्ने व्यवस्था पनि गर्न सकिन्छ ।
दलगत ट्रेड युनियन कर्मचारी र दलहरूमध्ये कसको आवश्यकता बढी हो ?
दलगत ट्रेड युनियन दुवैको समान आवश्यकता बनेको छ । कर्मचारीले आफूलाई सुरक्षित गराउन विभिन्न दलको छाता ओढ्ने र दलहरूले बढीभन्दा बढी कर्मचारीलाई आफूप्रति ‘लोयल’ बनाउन दलको छाता ओढाउने परम्परा हामीकहाँ बसेको छ । यसलाई अन्त्य गर्ने हो भने निजामती ऐनमा मात्र संशोधन गरेर हुँदैन । यसका लागि दलहरूका विधान र दलसम्बन्धी ऐन, कानुनमा समेत संशोधन गरी कर्मचारीलाई दलगत ट्रेड युनियनको सदस्यता दिनै नपाइने व्यवस्था गरिनुपर्छ ।