कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक्कासि र उत्तेजनामा संविधान संशोधन हुन नसक्ने बताएका छन्।
कोशी प्रदेश समितिले शनिबार विराटनगरमा आयोजना गरेको प्रथम सम्मेलनमा महामन्त्री थापाले नयाँ र पुरानो संविधानको प्रतिफलको बृहत् समीक्षा देशभरि चलाउँदै गणतन्त्र संघीयता र समानुपतिक व्यवस्थाका लागि आवश्यक विषयमा मात्रै संविधान संशोधन गर्ने कांग्रेसले तयारी गरिरहेको बताए।
थापाले संविधान संशोधनबारे पार्टी सचिवालय केन्द्रीय कमिटीमा छलफल भैसकेको र उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदलसमेत बनिसकेकोले पार्टीभित्र बृहत् छलफल भएपछि सभापति शेरबहादुर देउवाकै नेतृत्व कालमा संविधान संशोधन हुने बताए।
महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणाली रहेसम्म संसदीय व्यवस्थामा कुनै पनि पार्टीले पाँच वर्ष पूरा कार्यकाल शासन गर्न नपाउने र राजनीतिक स्थिरता पनि नहुने भएकोले संविधान संशोधन आवश्यक भएको बताए। उनले भने, ‘कांग्रेस बिगार्ने हैन सपार्ने पार्टी हो। यसैले कसैले उत्तेजनामा संशोधन प्रस्ताव ल्यायो भन्दैमा कांग्रेस हडबढाएर संशोधन गर्दैन। बृहत् समीक्षा गरेर मात्र आवश्यक संशोधन गर्नेछ।’
महामन्त्री थापाले कांग्रेसले पहिले कांग्रेसको विधान संशोधन गर्ने अनि मात्र समयमै पार्टीको १५औँ महाधिवेशन गर्ने बताए। यसैले पार्टी केन्द्रीय समितिले समयमै पार्टीको क्रियाशील सदस्यता नवीकरण गराउन सबै तहमा परिपत्र गरिसकेको, तर आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्त कतैबाट पनि नवीकरण नभएको बताए। थापाले भने, ‘अधिवेशनको वेला क्रियाशील सदस्यताबारे विवाद झिक्ने, काखापाखा गर्ने अनि त्यसैका लागि अनशन बस्ने प्रचलन अब अन्त गर्नुपर्छ। अनि मात्र समयमै पन्ध्राैँ महाधिवेशन हुन सक्छ।’
महामन्त्री थापाले पार्टीभित्र एकता अनिवार्य भएको भन्दै हार्ने जित्ने सबैले सबैलाई सम्मान गर्न आग्रह गरे। उनले झगडा गरेर कांग्रेस बलियो नहुने भएकोले हार्ने जित्ने सबैले आ–आफ्नो जिम्मेवारी लिएर पूरा गर्नतिर लाग्नुपर्ने बताए।
१८ मंसिरमा विराटनगरमा कांग्रेस इतरपक्ष डा. शेखर कोइराला समूहले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय पालिका भेलाप्रति इंगित गर्दै महामन्त्री थापाले केन्द्रसँग समन्वय नगरी गरेको कार्यक्रमले अराजकता बढाउने बताए। उनले भने, ‘रुपन्देही र कास्कीले पनि प्रदेशस्तरीय पालिका जिल्ला सभापतिहरूको भेला गर्न खोज्दै थिए। तर, हामीले भन्याैँ संयोजन केन्द्रले गरिदिन्छ तपाईंहरू स्थानीय आयोजक बस्नुहोस् भनेर भन्यौँ।’
महामन्त्री थापाले सरकारको काम कारबाहीमा रहेको समस्याको समाधान चुनावी मुद्दा बनाएर मिसन ०८४ पछि हैन, अहिलेबाटै खोज्नुपर्नेमा जोड दिए। उनले भने, ‘विदेशमा एउटा पूर्वाधार परियोजना एक वर्षमै सम्पन्न हुन सक्छन्। नेपालमा चाहिँ दसाैँ वर्ष किन लाग्छ, यसैले समाधान अहिले नै खोज्नुपर्छ चुनावी मुद्दा बनाएर हैन।
थापाले कांग्रेसको नेतृत्वमा २०४८ देखि २०५१ सम्मको शासनकालमा सबैभन्दा धेरै विकास निर्माणका काम भएको दाबी पनि गरे।