नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले चालू आर्थिक वर्षमा दुई लाख सेवाग्राहीलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। गत आवमा एक लाख ६२ हजार बिरामीलाई सेवा उपलब्ध गराएको अस्पतालले चालू आवमा थप ४० हजारभन्दा बढीलाई सेवा प्रवाह गर्ने लक्ष्य लिएको हो।
आज आयोजित अस्पतालको २०औँ वार्षिक साधारणसभामा अस्पतालले गत आवमा १० हजारको आँखाको विभिन्न खाले शल्यक्रिया गरेकामा चालू आवमा बढाएर १५ हजार पुर्याउने लक्ष्य लिइएको जानकारी दियो। गत वर्ष अस्पतालले ७६० जनालाई निःशुल्क उपचार सेवा उपलब्ध गराएको थियो भने ८० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकलाई उपचार सेवामा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिँदै आएको छ।
त्यसअवसरमा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष डा. अनिलप्रसाद गोर्खालीले वार्षिक आय-व्यय विवरण प्रस्तुत गर्दै गत आवमा तीन करोड, तीन लाख ७५ हजार रकम बचत गर्न सफल भएको जानकारी दिए।
आँखाका बिरामीलाई सरल, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने सिलसिलामा निकट भविष्यमै अस्पतालले बिमा प्रणालीलाई समावेश गर्ने तथा विधान संशोधनसम्बन्धी कार्य तीन महिनाभित्रै पूरा गरिने अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले जानकारी दिए।
साधारणसभाले अस्पतालका सचिव युद्धध्वज सापकोटाद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदनलाई अनुमोदन गरेको छ। स्थापनाको ५१औँ वर्षमा रहेको अस्पतालले विशेषज्ञसहित १२६ कर्मचारीमार्फत आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्दैआएको छ।