मोरङको विराटनगर महानगरपालिका– ११ स्थित निजी प्लटिङको जग्गामा विद्युत् चोरी गरेर रातभर झलमल्ल बाल्ने गरिएको पाइएको छ । बसपार्कको दक्षिणतर्फ रहेको प्लटिङ दीपक मलहोत्रा, सुरेन्द्रबहादुर सिंह र ध्रुव घिमिरेको स्वामित्व छ । प्लटिङको जग्गामा कुनै घर र सार्वजनिक बाटो छैन । जग्गा कारोबारीले भएका बाटा पनि पर्खाल लगाएर ब्लक गरिदिएका छन् । तर, त्यही प्लटिङमा बिजुलीका पोलमा ठुल्ठुला बत्ती सजाएर रातभरि झलमल्ल बाल्ने गरिएको छ ।
महिनौँदेखि बिजुली चोरी भएको देखेपछि स्थानीयले नेपाल विद्युत् प्राधिकरणमा गुनासो गरेका थिए । तर, प्राधिकरणले वास्ता नगरेको स्थानीय बताउँछन् । ‘हामीले यसबारे प्राधिकरणलाई सूचना पनि दिइसक्यौँ, तर खै बिजुली झलमल्ल बल्न रोकिएकै छैन,’ एक स्थानीयले भने । नियमअनुसार निजी प्लटिङ एरियामा बिजुली बाल्न मिटर बक्स राखेर प्राधिकरणसँग अनुमति लिनुपर्छ । घर बनेको भए घरवालाले अनुमति लिएर सशुल्क बिजुली जडान गर्न पाउँछन् । बसपार्क नजिकै कोशी राजमार्गमा वितरण गरिएको विद्युतको पोलबाट हुकिङ गरी प्लटिङमा बिजुली लगिएको छ ।
विद्युत् प्राधिकरण विराटनगरका प्रमुख सरोजकुमार साहले उक्त स्थानमा अवैध रूपले बिजुली बाल्ने गरेको सूचना बारम्बार आइसकेको र दुईपटक आफूले लाइन काट्न निर्देशन पनि दिइसकेको बताए । ‘लाइन काट्न दुईपटक निर्देश गरिसकेको छु, अझै काटिएको रहेनछ । म तुरुन्त एक्सन लिन्छु,’ उनले भने । प्लटिङको जग्गाको मूल्य प्रतिकट्ठा चारदेखि ६ करोडसम्म राखिएको छ । पहिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको स्वामित्वमा रहेको माछापोखरीको उक्त जग्गा ट्यालेन्ट रिक्युटमेन्ट एन्ड हाउजिङ प्रालिले खरिद गरेर प्लटिङ गरेको थियो ।
होटल बनाउने घोषणा
स्थानीयका अनुसार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीन वर्षअगाडि सो जग्गा प्रतिकट्ठा दुई करोड रुपैयाँका दरले बिक्री गरेका थिए । काठमाडौंका दीपक मलहोत्रा, सुरेन्द्रहादुर सिंह र ध्रुव घिमिरेले जग्गा खरिद गरेका थिए । सुरुमा उनीहरूले अन्तर्राष्ट्रियस्तरको होटेल बनाउने बताएका थिए । तर, अहिले उनीहरूले अन्तर्राष्ट्रिय मापदण्डस्तरको घडेरीमा रूपान्तरण गरिएको दाबी गरेका छन् । ४८ कट्ठा १३ धुर जग्गालाई मलहोत्रा र उनका साझेदार पार्टनरहरूले टुक्रा–टुक्रा गरेर ६९ वटा घडेरी बनाएका छन् ।
न्यूनतम आठ धुरदेखि एक कट्ठासम्मको जग्गालाई एउटा घडेरी बनाएका छन् । घडेरीको प्रतिधुर २० देखि ३० लाख रुपैयाँमा बिक्री गर्ने गरिएको छ । पोखरी पुरेर घडेरी बनाइसकेपछि कारोबारीले मेयर कोइरालासमेतको उपस्थितिमा गत १६ साउनमा पत्रकार सम्मेलन गरेका थिए । उनीहरूले करोडौँ खर्चेर विराटनगरको मुटुमा अन्तर्राष्ट्रियस्तरको घडेरी बनाउन सफल भएको दाबी गर्दै चाँडै घडेरी खरिद गर्नेलाई विशेष सहुलियत दिने घोषणा गरेका थिए ।