कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित मदन चोकमा फुटपाथ मिचेर २२ वटा सटर निर्माण गर्न लागिएको विषयमा पाँच राजनीतिक दलसहित भ्रातृ संगठनहरू एकमत देखिएका छन्। मदन चोकमा २२ वटा सटर निर्माण गर्न लागिएपछि त्यसको विरोधमा नगरका पाँच राजनीतिक दल र आठ भ्रातृ संगठन एक ठाउँमा उभिएका हुन्।
नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत सडक र ढल निर्माण कार्य अघि बढेको थियो। तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिनमातहत रहेको स्थानमा २२ वटा सटर निर्माण गरिएका थिए। सडक निर्माणका क्रममा गत वर्ष हटाइएका सटर भएको स्थानमा फुटपाथ मिचेर पुनः सटर बनाउन लागिएपछि चौतर्फी विरोध भइरहेको छ।
माओवादी केन्द्र भीमदत्त नगरका उपाध्यक्ष रघुवीर धामी (तुफान), राप्रपा नगर अध्यक्ष करनसिंह पाल, एकीकृत समाजवादीका नगर अध्यक्ष मदन सेराला, रास्वपा नगर सभापति अम्बादत्त जोशी र नेकपा बहुमतका इन्चार्ज रितिकसहित विभिन्न भ्रातृ संगठनले संयुक्त प्रेस नोट जारी गर्दै विकासविरोधी काम नगर्न आग्रह गरेका छन्। उनीहरूले पालिकामा समेत दबाब दिएका छन्। यसअघि सडक निर्माण गरेर फुटपाथ निर्माण कार्य गर्न नसकेको एडिबीले उक्त स्थानमा फुटपाथ निर्माण सुरु गरेपछि भीमदत्त नगरपालिकाले सटर निर्माण गर्न लागेको कम्पनीलाई मंगलबार पत्राचार गरेपछि स्थानीय आक्रोशित भएका हुन्।
भीमदत्त नगरपालिकाले भने २२ वटा सटरको विषयमा सर्वदलीय बैठकबाट निर्णय लिनुपर्ने भएकाले काम हाललाई स्थगित गरिएको जनाएको छ। भीमदत्त नगरका प्रवक्ता पदम अवस्थीले शुक्रबार सर्वदलीय बैठक राखेर अघि बढ्ने बताए।