जाजरकोटको भेरी नगरपालिका– १०, नुवागाउँस्थित मध्यपहाडी लोकमार्गमा सोमबार बेलुका बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
चालक मनोज केसी र सहचालक मिथुन हमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दाङका कमल चौधरी गम्भीर घाइते भएका छन् । उनीहरू मध्यपहाडी लोकमार्गको निर्माण कार्यमा खटिएका थिए ।
कुदु जाँदै गरेको प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप बेलुका ८:५५ बजे सडकबाट करिब सात सय मिटर तल खसेको थियो। स्थानीयले इलाका प्रहरी कार्यालय, जगतीपुरलाई जानकारी दिएपछि प्रहरी निरीक्षक दलबहादुर विष्टको नेतृत्वमा चारजनाको टोली घटनास्थलतर्फ खटिएको थियो। थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय, जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाको नेतृत्वमा ११ जनाको टोली परिचालन गरिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका तीनजनालाई भेरी नगरपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल, जाजरकोट लगिएको थियो।
दुर्घटनाबारे प्रहरी प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले भने, ‘प्रारम्भिक जानकारीअनुसार सवारीसाधन तीव्र गतिमा रहेको अनुमान गरिएको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ। प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेर आवश्यक थप अनुसन्धान गरिरहेको छ।’