धनुषाको मिथिलाविहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवसमेत चारजनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। सोमबार विशेष अदालतले अनियमितता गरेको मुद्दामा सफाइ दिने फैसला गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २१ असारमा मुद्दा चलाएको थियो। जसमा प्रमुख प्रशासकीय अधिकृत यादवका साथै लेखापाल सुभासकुमार झा र जिन्सी शाखा प्रमुख तथा खरिदार उपेन्द्र यादवलाई प्रतिवादी बनाइएको थियो।
नगरपालिकामा आर्थिक वर्ष ०७९/८० मा सञ्चालित वडा नं ९ को श्री आधारभूत विद्यालय र श्री रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाइ अभिवृद्धि कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। कुनै कामै नगरी भुक्तानी भएको दाबी गरिएको थियो।
अनुसन्धानका क्रममा उक्त कार्यका लागि सार्वजनिक खरिद ऐन र नियमावलीबमोजिम लागत अनुमान गरी दरभाउपत्र आह्वान गरी खरिद मूल्यांकन गर्नुपर्नेमा सो नगरेको भेटिएको थियो। नगरपालिकामा सूचीकृत रहेको भनी ३ आपूर्तिकर्ताको झुटो दरभाउपत्र तयार गरी खरिद मूल्यांकन समितिको बैठकमार्फत मूल्यांकन नगराई कार्यालयको टिप्पणी आदेशबाट खरिद कार्य गरिएको थियो।
विद्यार्थीहरूका लागि ७ प्रकारका २९५ सेट पोसाक मजदुर होजियरीका प्रोपाइटर रामसुन्दर साहबाट खरिद गरिएको थियो। यस क्रममा नाै लाख ९६ हजार रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको थियो। जब कि त्यसको वास्तविक मूल्य चार लाख ६१ हजार रुपैयाँ मात्र पर्ने अनुसन्धानले देखाएको थियो।
यस घटनामा नगरपालिकाका तीन कर्मचारी र व्यवसायी साहमाथि मुद्दा दायर भएकोमा सफाइ दिने फैसला भएको हो। विशेषका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो।