शंकर पोखरेललाई वर्षमानको प्रश्न : प्रचण्डलाई हरुवा भन्न लाज लागेन ?

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले एमाले महासचिव शंकर पोखरेलले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी ‘हरुवाहरूले सरकार चलाउने युगको अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

रोल्पाको माडी गाउँपालिकाको पार्टी अधिवेशनलाई आइतबार सम्बोधन गर्दै पुनले पोखरेलको भनाइप्रति आपत्ति जनाएका हुन्। उनले माओवादी नेतृ रेखा शर्मासँग ०७९ को आमनिर्वाचनमा दाङ–२ बाट पराजित भएका पोखरेलले गोरखा–१ बाट निर्वाचित प्रचण्डलाई हरुवा भनेकामा आश्चर्य प्रकट गरे।

‘हाम्रो अध्यक्ष प्रचण्ड ०६४ यताको कुनै पनि निर्वाचनमा पराजित हुनुभएको छैन। १८ महिनासम्म संसदमा बहुमत जुटाएर सरकार चलाएको हो,’ पुनले भने, ‘शंकरजी अस्ति भर्खरै हाम्रो पार्टीको नेता रेखा शर्माजीसँग हार्नुभएको सबैलाई थाहा छ।’

०७० सालमा देशैभर कांग्रेस र एमालेको पक्षमा उभार भएका वेला पनि पोखरेलले गृहजिल्लामा चुनाव हारेको चर्चा गर्दै पुनले ‘हरुवा’ले लाजै पचाएर अरूलाई हरुवा भन्नु हास्यास्पद भएको कडा टिप्पणी गरे।

कांग्रेस र एमाले मिलेपछि प्रगतिशील र कम्युनिस्ट विचारधाराका दलहरूलाई सकाउन सकिन्छ भन्दै पोखरेलले दुईदलीय व्यवस्थाको वकालत गर्दै हिँडेकामा पनि उनले आपत्ति जनाए। ‘खासमा उहाँ (पोखरेल)ले कांग्रेस–एमालेको दुईदलीय व्यवस्थाको होइन, कांग्रेस–एमाले पुँजीपति वर्गको पार्टी हो भन्न खोज्नुभएको हो,’ पुनले भने, ‘जनताको पार्टी हाम्रो हो।’

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा एमाले महासचिव पोखरेलले हरुवाहरूले शासन गर्ने व्यवस्थाको अन्त्यका लागि संसद्का दुई दल मिलेको अभिव्यक्ति दिएका थिए। ०८४ सम्म आफ्नो दलले सरकार ढाल्ने प्रयास नगर्ने भन्दै पुनले त्यति वेलासम्म टिकाएर देखाउन कांग्रेस–एमालेलाई चुनौती दिए।

कांग्रेस महामन्त्री गगन थापाले सातामा एकपटक प्रधानमन्त्री बनिदिन आफ्ना सभापति शेरबहादुर देउवालाई खबर पठाउने गरेको भन्दै गलत अफवाह फैलाएको पुनको जिकिर थियो। प्रचण्डको सरकारले भ्रष्टाचार, तस्करी र राज्य दोहनमा संलग्नलाई कारबाहीको दायरामा ल्याउँदा कांग्रेस–एमाले अत्तालिएर मिलेको आरोप लगाउँदै पुनले ०८४ को निर्वाचनमा जनताले त्यसको हिसाब गर्ने चेतावनी दिए।

सरकारले हालसम्म दलाल, बिचौलिया र तस्करहरूको स्वार्थमा काम गरेको उनको आरोप छ। आफूले प्रधानमन्त्री केपी ओलीले भनेका व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त नगर्दा सरकार ढालिएको भन्दै उनले बिचौलियाको डिजाइनमा तिनै व्यक्तिलाई नियुक्त गरेर सरकारले आफूहरूले भन्दै आएको आरोप पुष्टि गरेको बताए।

मानव तस्करीमा मुछिएका कोशी प्रदेशमा पूर्वमन्त्री एमाले सांसद लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएर मानव तस्करको योजनामा उनले जापान लिएर गएकाहरूलाई मात्र प्रतिवादी बनाइनु, सहकारी ठगीमा संलग्न कांग्रेस–एमाले नेतालाई उन्मुक्ति दिइनुले सरकारले बेथिति र भ्रष्टाचारीको संरक्षणमा काम गरिरहेको पुष्टि हुने उनको भनाइ छ।

सुझावित समाचार