स्थानीय तह उपनिर्वाचन : हेटौँडा– १२ मा ५० प्रतिशतभन्दा बढी मतदान

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १२ मा जारी मतदानमा ५० प्रतिशतभन्दा बढी मतदान भएको  छ । वडाध्यक्ष पदका लागि जारी मतदानमा १:३० बजेसम्म ५० प्रतिशतभन्दा बढी मतदान भएको  निर्वाचन कार्यालयले जनाएको छ ।

आठ हजार ५३ कुल मतदाता रहेको यस वडामा चार हजार २२३ मत खसेको छ । विष्णुज्योति आधारभूत विद्यालयमा रहेको मतदान स्थलको चार मतदान केन्द्रमा एक हजार ८४३ मत खसेको छ भने प्रतिभा माध्यमिक विद्यालय दुई हजार ३८० मत खसेको छ ।

हेटौँडा– १२ को एक वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका छन् । जसमध्ये दलबाट नाैजना र स्वतन्त्र तीनजना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । 

दलबाट कांग्रेसका अर्जुनप्रसाद तिवारी, एमालेका राजेश नगरकोटी, माओवादी केन्द्रका रविकुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेसनल अर्गनाइजेसनकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गीताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा रहेका छन् ।

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौँडा– १२ को अध्यक्ष पद रिक्त रहेको थियो ।

सुझावित समाचार