निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्याललाई ३ प्रश्न

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

स्थानीय तह उपनिर्वाचनमा मतदानका लागि तयारी कस्तो छ ?
स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । आज (आइतबार) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदाताको सहजताका लागि मतदान स्थलको निश्चित क्षेत्रबाहेक निर्वाचन सुरक्षामा असर नपर्ने गरी यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको छ । मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदा दिनका लागि आयोगले सरकारसित अनुरोधसमेत गरेको छ । मतदानमा प्रभाव पार्ने कार्य वा पार्ने प्रयत्न भएमा कानुनबमोजिम कारबाही गरी मतदान निर्वाध रूपमा उपनिर्वाचन सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिइएको छ । सबै आधारमा तयारी पूरा भएका छन् ।

मतदाताले कसरी मतदान गर्न सक्ने व्यवस्था गरिएको छ ?
मतदाताको मताधिकार सुरक्षित गर्न आयोगले अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मताधिकारको उपयोग गर्न सहजता होस् भन्ने हेतुले मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र या सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्ने व्यवस्था मिलाएको छ । गर्भवती, फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री र अन्य लिंगीलाई प्राथमिकताका आधारमा मतदान गर्न दिने व्यवस्था गरेका छौँ ।

मतगणना कहिलेदेखि सुरु हुन्छ र मतपरिणाम कसरी सार्वजनिक हुन्छन् ?
आइतबार साँझ मतदान सकिएसँगै मतगणना सुरु हुनेछ । मतपरिणाम आयोगको वेबसाइटमार्फत अधावधिक गरिनेछ । निर्वाचन परिणामसम्मका सम्पूर्ण तयारी पूरा भएका छन् ।

सुझावित समाचार