रारा राष्ट्रिय निकुञ्जले जिल्लामा क्रियाशील पत्रकारहरूसँग वन्यजन्तु अपराध नियन्त्रणका लागि रारामा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। रारा राष्ट्रिय निकुञ्जमा हुने विभिन्न आपराधिक गतिविधिमा कमी ल्याई राष्ट्रिय निकुन्जको प्राकृतिक वातावरणलाई सुन्दर बनाउने र वन्यजन्तुलाई कसरी चोरी सिकारी अपराध नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ पत्रकारसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका प्रमुख निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले हालसम्म निकुञ्ज कार्यालय, नेपाली सेना र मध्यवर्ती व्यवस्थापन समितिले राराको जैविक, प्राकृतिक सम्पदाको संरक्षण र वन तथा वन्यजन्तुसँग सम्बन्धित अपराध नियन्त्रणका लागि भए–गरेका प्रयास र क्रियाकलापहरूबारे जानकारी गराएका थिए ।
संरक्षण अधिकृत न्यौपानेले जैविक विविधताको संरक्षणमा आइरहेका चुनौतीहरूबारे जानकारी गराउँदै चोरी–सिकारीको समस्या अझै विद्यमान रहेको बताए। उनले चोरीसिकारी नियन्त्रणका लागि स्थानीय रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दा, समुदाय, सुरक्षाकर्मी र पत्रकारहरूको सहकार्य अनिवार्य रहेको उल्लेख गरे ।
पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले निकुञ्जभित्र रहेका जलीय तथा वन्यजन्तु, वनजन्य प्राकृतिक सम्पदाहरूको संरक्षणका लागि राज्यले रारामा नेपाली सेना, निकुञ्ज कार्यालय र कर्मचारी खटाए पनि सोचेजस्तो संरक्षण नभएको गुनासाे गरे । उनले भने, ‘हामी कहाँ चुक्यौ ? ती छिद्रहरू पहिचान गरी राराक्षेत्रमा रहेका रुख, फूल, जडीबुटीका प्रजाति, जलीय जन्तु, वन्यजन्तु र रारा तालको संरक्षणमा कठोर नीति अवलम्बन गर्नुपर्छ ।’
संरक्षणका लागि राज्यले नियम, कानुन बनाए पनि कार्यान्यन फितलो हुँदा र आफ्नो जिम्मेवारी निकुञ्जका कर्मचारी, नेपाली सेना र समुदायले नबुझ्दा वनजन्य तथा वन्यजन्तुसँग सम्बन्धित अपराध नियन्त्रणमा समस्या आएकोले आ–आफ्नो जिम्मेवारी र कर्तव्य सबैले बोध गर्नुपर्ने अध्यक्ष मल्लकाे सुझाव छ ।
कार्यक्रममा चोरीसिकार नियन्त्रण, पर्यावरणीय सुरक्षा, र पर्यटक आकर्षणका विभिन्न पहलबारे छलफल गरिएको थियो। अन्तर्क्रिया कार्यक्रममा रारा राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपाने, सूचना अधिकारी धर्मजित साउत, हनुमान ध्वज गुल्मका गुल्मपति वसन्तनाथ योगी, निकुञ्जका कर्मचारी र मुगु जिल्लामा क्रियाशील पत्रकार सहभागी थिए ।