गुणस्तरीय र निःशुल्क शिक्षामा सरकार प्रतिबद्ध हुनुपर्छ : महर

शनिबार, १५ मंसिर, २०८१
डिजिटल संस्करण

कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले गुणस्तरीय र निःशुल्क शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताएका छन्।

तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले गुणस्तरीय र निःशुल्क शिक्षा आजको आवश्यकता भएको औँल्याए।

कांग्रेस प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने भएकाले जनताका लागि शिक्षा र स्वास्थ्य सेवा प्रवाह राज्यले नै गर्नुपर्छ भन्नेमा दृढ छ। राज्यले यसको दायित्व लिनुपर्छ। गुणस्तरीय र निःशुल्क शिक्षा नै हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने। कांग्रेस पार्टी निःशुल्क र गुणस्तरीय शिक्षाको नीति निर्माणमा समेत जुटेको उनले जानकारी दिएका छन्। 

‘कांग्रेस उदारवादमा विश्वास गर्ने पार्टी हो। व्यक्तिको आफ्नो पनि क्षमता छ। उसले आफ्नो वृत्ति विकासमा छुट पाउनुपर्छ भन्ने कुरामा कांग्रेस प्रतिबद्ध छ। नेपालको संविधानले प्रतिबद्धता व्यक्त गर्दा गर्दै पनि हामीले निःशुल्क र गुणस्तरीय शिक्षाको व्यवस्थापन सरकारका तर्फबाट मात्रै हुने देखेका छैनौँ,’ उनले भने, ‘सरकारसँग बजेट अभाव छ। हाम्रो अर्थतन्त्र त्यति बलियो छैन। यसको कार्यान्वयनमा निजी क्षेत्रका प्याप्सनजस्ता संघसंस्थाले खेलेको भूमिका प्रशंसायोग्य नै छ।’ उनले निजी क्षेत्रका शैक्षिक संस्थाको लगानीको सुरक्षा प्रत्याभूत गर्ने जिम्मेवारी सरकारको भएको र त्यसबाट सरकार विमुख हुन नहुनेसमेत बताए।

गुणस्तरीय शिक्षा प्रदान गर्दा दक्ष जनशक्ति उत्पादन हुने भएकाले उसले देशलाई ठुलो योगदान पुर्याउन सक्नेमा आफू विश्वस्त रहेको उनले बताए। यसैले ‘थ्रिपी’ मोडेलमा अगाडि बढ्नुपर्नेमा उनको जोड छ। पब्लिक प्राइभेट पार्टनरसिपमा शिक्षा क्षेत्रलाई अगाडि बढाउनुपर्ने महरले बताए।

सुझावित समाचार