अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार ठहरसँगै विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठलाई सजाय सुनाएको छ । १४ कात्तिकमै कसुर कायमको फैसला भए पनि बिहीबार मात्र उनीहरूको सजाय निर्धारण भएको हो ।
विशेषका अनुसार दुवैजनालाई जनही ८ वर्ष कैद सजाय तोकिएको छ । र, तीन करोड ४२ लाख रुपैयाँभन्दा बढी जरिवाना छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू खुसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले उनीहरूबाट जरिवानाबराबरको बिगो भराउनसमेत आदेश गरेको छ ।
एक महिनाअघि यही इजलासले ११ प्रतिवादीमध्ये ९ जनालाई सफाइ दिँदै विकल र सफलमाथि मात्र कसुर कायमको फैसला गरेको थियो । अन्तःशुल्क स्टिकर छपाइका क्रममा भ्रष्टाचार ठहरपछि उनीहरूलाई सजाय सुनाइएको हो ।
३८ करोड ६७ लाख रुपैयाँभन्दा बढी अनियमतिता भएको वादी दाबी भए पनि केवल दुईजना संलग्न रहेको ठहरसहित अन्य ९ जनालाई सफाइ दिइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष ९ असारमा मुद्दा दायर गरेको थियो ।
जसमा बहालवाला मुख्यसचिव पनि प्रतिवादी थिए । साथै, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, उपमहानिर्देशक टंकप्रसाद पाण्डेय, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रवीन्द्रप्रसाद पौडेलसमेत प्रतिवादी थिए । उनीहरूले सफाइ पाए ।