मकवानपुरको राक्सिराङ गाउँपालिका- ७ नम्बर वडास्थित विकट तल्लो गर्लिङमा करिब २ करोड रुपैयाँ खर्चिएर विद्यालय भवन निर्माण हुने भएको छ। गर्लिङमा रहेको सातकन्या प्राथमिक विद्यालयको सातकोठे भवनको शुक्रबार बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले शिलान्यास गरेका छन्।
लिसा हिमालय इभीमार्फत दिगो विकासका लागि एकता नेपालको आर्थिक सहयोगमा २ करोड १ लाख रुपैयाँको ठेक्कामार्फत विद्यालय भवन निर्माण हुन लागेको हो। गृह आर्किटेक एन्ड बिल्डर्स प्रालिसँग ०८१ कात्तिक २० गते विद्यालय निर्माणको सम्झौता भएकोमा ०८२ कात्तिक १८ गतेसम्म सम्पन्न गर्ने सहमति भएको छ।
पक्की विद्यालय भवन नहुँदा यस भेगका विद्यार्थीहरू जस्ताको छानोयुक्त कच्ची भवनमा अध्ययन गर्दै आएका थिए। पक्की भवन निर्माण भएसँगै अध्ययनमा सहज हुने र विद्यार्थीहरू पनि विद्यालयतिर आकर्षित हुने विश्वास लिइएको छ। विद्यालय भवन शिलान्यास गर्दै बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले विकट गाउँमा सडक सञ्जालसँगै शिक्षा, स्वास्थ्य, सडकलगायत पूर्वाधार विकास र सामाजिक आर्थिक विकासमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिएको बताए।
संघीयता स्थापनासँगै मुलुकको विकासको गति बढिरहेको उल्लेख गर्दै वर्तमान व्यवस्थाविरुद्ध लाग्नेहरू विकासविरोधी भएको उनको भनाइ थियो। विकट गाउँको विकासका लागि आगामी दिनमा पनि गाउँको आवश्यकताका आधारमा विकास साझेदारहरूसँगको सहकार्यका लागि आफुले पहल गर्ने सांसद बानियाँले प्रतिबद्धता जनाए।
सातकन्या प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज मुक्तानको अध्यक्षतामा भएको भवन शिलान्यास कार्यक्रममा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, दातृ संस्था लिसा हिमालय इभीका एक्टिङ कन्ट्री डाइरेक्टर अन्जन पौडेल, कांग्रेस मनहरी सभापति प्रकाश बर्तौलालगायतले राक्सिराङ ७ स्थित गर्लिङसम्म पुग्ने सडक स्तरीकरण गर्न प्रदेश सरकारमार्फत बजेटको व्यवस्था गरिदिन आग्रह गरेका थिए।