गुल्मीको रेसुंगा नगरपालिका–९ का निर्माण व्यावसायी विजय खनाल लगातार तीन वर्ष उत्कृष्ट करदाता बनेका छन्। करदाता सेवा कार्यालय गुल्मीले कर सप्ताहको समापन गर्दै उत्कृष्ट करदातासहित विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको थियो।
सोही अवसरमा कृषि भूमि व्यावस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले अर्जुन बिल्र्डसका प्रोपाइटर विजय खनाल र श्रीमती लक्ष्मी खनाललाई सम्मान गरेका थिए।
उनले आर्थिक वर्ष ०७९/८० मा २५ लाख ३६ हजार ३६७ रुपैयाँ कर तिरेका थिए। सम्मानपछि बोल्दै खनालले सरकारले काम गरेको पैसा समयमै भुक्तानी नगरेका कारण सम्मानपछि लुकेर भाग्ने अवस्थामा निर्माण व्यावसायी रहेको बताए। काम गरेको पैसा सरकारले नदिने, तर ऋण खोजेर बिलको कर बुझाउने बिडम्बनाको अन्त्य हुनुपर्ने खनालले बताए।
‘मैले पैसा नदिने सरकारलाई सबैभन्दा बढी कर तिरेर उत्कृष्ट बनिरहेको छु। मेरो करोडौँको काम गरेको पैसा पाएको छैन,’ उनले भने, ‘सरकार लुकेर हिँड्ने र ऋण काढेर कर तिर्ने कहिलेसम्म?’