जंगली हात्तीले लालझाडीमा तीन स्थानीयको घर भत्कायो

सोमबार, ३ मंसिर, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको लालझाडीमा तीन स्थानीयको घर हात्तीले भत्काइदिएको छ । लालझाडी गाउँपालिका– ४ खल्लाजाईका तीन स्थानीयका घर जंगली हात्तीले भत्काइदिएको हो । गएराति खल्लाजाईका हरिलाल टमाटा, शारदा टमाटा र ठग्गी कडाराका घर हात्तीले भत्काइदिएको लालझाडी हात्तीपीडित संघर्ष समितिका अध्यक्ष दर्शन रानाले जानकारी दिए।

उनका अनुसार हात्तीले कच्ची घर भत्काएर अन्न पनि नष्ट गरिदिएपछि हात्तीपीडित टमाटा र कडारा परिवारको बिचल्ली भएको छ । यस वर्ष गत असोजदेखि हात्तीले मानिस, भौतिक संरचना, घर अन्नबालीमा क्षति पुर्या उँदासमेत तीनै सरकारले हात्ती नियन्त्रणका लागि पहल नगरेको स्थानीयको दुखेसो छ।

गत असोज दोस्रो साता हात्तीको बथानले आक्रमण गर्दा लालझाडीका युवकको मृत्यु भएको थियो। लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले हात्ती नियन्त्रणका लागि स्थानीय सरकारले प्रदेश र संघीय सरकारसँग पहल गरेको भइरहेको बताए।

‘हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि हाम्रो पहल जारी छ,’ उनले भने, ‘हात्ती नियन्त्रण गर्न हामी स्थानीय सरकारको प्रयासले मात्रै हुन लागेको छैन, त्यसमा थप माथिल्ला सरकारले पनि हेर्नुपर्छ ।’

सुझावित समाचार