माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शासकीय स्वरूप, निर्वाचन प्रणाली र पहिचानको विषयलाई लिएर नयाँ आन्दोलन अघि बढाउने बताएका छन् ।
माओवादी काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षण कार्यक्रम राजधानीमा शनिबार उद्घाटन गर्दै उनले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भन्दै आन्दोलनको संकल्प गरेको बताएका हुन् ।
अबको आन्दोलन समाजवादी आन्दोलनको आधार हुने पनि उनले बताए । ‘हामीले संविधान जारी हुँदा जे नोट अफ डिसेन्ट लेखेका थियौँ, ती पूरा नहुँदासम्म देशमा राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिले गति नलिने विगतको अनुभवले देखाइसकेको छ,’ प्रचण्डले भने, ‘त्यसैले मैले नयाँ प्रतिबद्धताका साथ यसपल्ट नयाँ आन्दोलनको सृष्टि गर्ने संकल्प लिएको छु । त्यो आन्दोलन नयाँ समाजवादी आन्दोलनको आधार पनि हुनेछ ।’
उनले अब माओवादीको नेतृत्वमा हुने आत्मनिर्भर अर्थतन्त्रसहितको नयाँ समाजवादी आन्दोलनमा साथ दिन पनि अपिल गरे ।