खेलेरै परिवार धान्न सक्ने अवस्था बनाउन प्रयास गर्छु : प्रदेश खेलकुदमन्त्री महर्जन

शनिबार, २४ कार्तिक, २०८१
डिजिटल संस्करण

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेल क्षेत्रमा युवाको आकर्षण बढाउँदै खेलेरै परिवार धान्न सक्ने अवस्था निर्माणमा आफ्नो ध्यान रहेको बताएका छन्। मकवानपुरको मनहरी– ४, मसिनेस्थित गोलघर मैदानमा शुक्रबारबाट सुरु भएको चैनपुर जेसिज मनहरी फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महर्जनले आफ्नो कार्यकालमा खेलाडीमैत्री नीति ल्याउने बताए।

‘म १२ वर्षको उमेरदेखि खेलकुदमा लागेको मान्छे हुँ। मैले मेरो जीवन खेलकुदमै बिताएँ। यस क्षेत्रमा रहेको सम्भावना, समस्या र चुनौतीको बारेमा जानकार छु,’ उनले भने, ‘मैले रोजेरै खेलकुद मन्त्रालयको जिम्मेवारी लिएको हुँ। बागमती प्रदेशको खेल क्षेत्रको विकासमा योजनाबद्ध कार्य गर्छु।’

मन्त्री महर्जनले गोलघर खेल मैदानलाई मिनी रंगशालाको रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। उनले प्रत्येक पालिकामा कम्तीमा एउटा मिनी रंगशाला मात्रै भए पनि खेल गतिविधि सञ्चालन गर्न सहज हुने भन्दै आगामी बजेटमा गोलघर खेल मैदानलाई प्राथमिकतामा राखेर बजेट विनियोजनका लागि पहल गर्ने आश्वासन दिए।

कार्यक्रमको अवसरमा गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, ४ नम्बर वडाध्यक्ष प्रकाश थापालगायतले गोलघर चौरको विषयमा जानकारी गराउँदै ज्ञापनपत्रसहित मन्त्रीसमक्ष बजेटको माग गरेका थिए।

नमोबुद्धको विजयी सुरुवात
शुक्रबारबाट सुरु भएको दोस्रो चैनपुर जेसिज मनहरी कप फुटबल प्रतियोगितामा हेटौँडा– १३, पदमपोखरीको नमोबुद्ध एफसीले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा मनहरी ४ नम्बर वडालाई २–० ले हराउँदै नमोबुद्धले विजयी सुरुवात गरेको हो।

नमोबुद्धको जितका लागी खेलको २६औँ मिनेटमा सुनील लामा र ४३औँ मिनेटमा सामुयल सुनारले गोल गरे। मनहरी ४ ले गोल गर्ने केही राम्रा अवसर गुमाउँदा प्रतियोगितको पहिलो खेलबाटै बाहिरिएको छ।

मंसिर ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १६ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ र अन्य विधागत उत्कृष्टले जनही ३ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताका सहसंयोजक प्रदीप थापाले जानकारी दिए।

सुझावित समाचार